पर्यटन/संस्कृति

लाटीकोइली शिव मन्दिरको डिपिआर तयार

सुर्खेत । सुर्खेतको पुरानो धार्मिकस्थल वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित शिव मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । मन्दिर क्षेत्रलाई व्यवस्थित र प्रमुख धार्मिक गन्तव्य बनाउने उद्देश्यले महायज्ञबाट सङ्कलित बजेटबाट डिपिआर तयार गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले गुरुयोजना बमोजिम मन्दिर परिसरमा प्रतिक्षालय, चिल्ड्रेन पार्क, भजनकीर्तन कक्ष रहने बताए । “मन्दिर नयाँ बन्नुका साथै मूल गेट, सटरसहित पूजा सामग्री बिक्री कक्ष, अर्धनागेश्वर शिव मूर्ति, हवन गृह रहने गरी डिपिआर तयार भएको छ”, उनले भने ।

व्यवस्थापन समितिले डिपिआर बमोजिम यसै वर्षदेखि पुरानै स्वरुपमा निर्माण योजना शुरु गर्ने जनाएको छ । जीर्ण मन्दिरलाई थप व्यवस्थित गर्न विभिन्न समयमा शिव महापुराण, श्रावण मेला, लाटीकोइली धार्मिक शिव महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सवबाट रु एक करोड २४ लाख ६० हजार पाँच सय सङ्कलन भएको अध्यक्ष मानन्धरले जानकारी दिए । यही बजेटबाट मन्दिर पुनःनिर्माणका साथै गुरुयोजना बमोजिमका संरचना बन्नेछन् । डिपिआर प्रफेक्ट सोलुसन्स पावर एण्ड इञ्जिनीयरिङ प्रालिले तयार गरेको हो ।