कृषि

फलफूल खेतीका लागि प्रतिघर पाँच बिरुवा निःशुल्क वितरण

पाल्पा। तिनाउ गाउँपालिका–२, दोभानमा व्यावसायिक फलफूल खेतीका लागि निःशुल्क बिरुवा वितरण गरिएको छ । वडावासीको आयआर्जन वृद्धि गर्न प्रतिघर फलफूलका बिरुवा रोपिन थालिएको हो ।

प्रत्येक घरमा पाँच वटा फलफूलको बिरुवा रोपेर आयआर्जनमा वृद्धि ल्याउन फलफूलका बिरुवा वितरण गरिएको हो । बस्ती आसपासका क्षेत्रमा हरियाली बनाउने अभियानसँग आयआर्जनमा सहयोग पुग्ने उद्देश्यका साथ वडा केन्द्रित बनेको छ ।

वडाका ८१८ घरपरिवारलाई पाँच वटाका दरले बिरुवा वितरण गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताए । डिभिजन वन कार्यालय, वडा कार्यालय र कृषि शाखाको समन्वयमा वडाभित्र बसोबास गर्नेले पहिलो चरणमा पाँच वटा बिरुवा निःशुल्क प्रतिघर वितरण गरिएको हो ।

स्थानीय बासिन्दा, दिनेश जिसीले वडाबाट निःशुल्क फलफूलका बिरुवा पाएपछि आफूलाई खुशी लागेको बताए । खाल्डो खनेर लिची, कागती र आँप रोपेको छु । केही वर्षमा फल फल्छ, त्यसपछि आम्दानीको स्रोत वृद्धि हुनेपछि स्थानीय बासिन्दा हरिकला कुमाल पनि खुशी छन् ।

दोभानका वृद्धिबहादुर दर्नालका अनुसार खाली रहेको जग्गामा कागतीका बिरुवा रोपिएको छ । खाली जग्गालाई उपयोग गरी हरियालीसँग फलफूल खेतीका लागि ठूलो प्रोत्साहन हो । वडाले चालू आवमा चार लाख बजेट विनियोजन गरी व्यावसायिक फलफूूल खेती गर्न वडावासीलाई अनुदानमा बिरुवा वितरण गरिएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका व्यावसायिक कागती, लिची, आँपका लागि उपयुक्त क्षेत्र मानिएको छ । चुरे क्षेत्र रहेको यस रहेकाले करीब पाँच वर्षको अवधिमा फलफूलका बिरुवाबाट आम्दानी लिने सकिने श्रेष्ठको भनाइ छ । आव २०७६ः७७ को कार्यक्रम साउन महीनामा कार्यान्वयनमा ल्याएका छन् । फलफूलका बिरुवा लगाउन साउन महीना उपयुक्त हुने भएपछि कृषि शाखाको सहयोगमा खाल्डो खन्ने र बिरुवा रोप्न सिकाइएको छ ।

तिनाउ गाउँपालिकाका क्षेत्र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिकासँग जोडिएको क्षेत्र हो । यस क्षेत्रमा उत्पादित कृषि अन्नबालीका लागि बजारको समस्या छैन । यस क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बुटवल क्षेत्रका किसानले बेचेर घर फर्किन्छन् ।

तिनाउ क्षेत्र कृषि उत्पादनका लागि उर्वर भूमि हो । कृषिबाट आत्मनिर्भर नभएरसम्मका लागि दैनिक खाद्य पदार्थमा बाह्य निर्भरतामा रहनुपर्ने बाध्यता हुन्छ । बाह्य निर्भरतालाई हटाउन र नागरिकको आर्थिक उन्नति गर्न कृषि उत्पादनलाई विशेष कार्यक्रम ल्याएको हो ।

वडाभित्रका सबै घरपरिवारको आयआर्जनमा वृद्धि हुनेछ । सबैलाई निःशुल्क बिरुवा रोपेर हरियालीसँग आयआर्जनमा टेवा पुग्ने हुँदा यो कार्यक्रम प्रशंसनीय रहेको नमूना टोल विकास समितिका अध्यक्ष मोहनबहादुर विकले बताए ।

तिनाउ गाउँपालिकाले आव २०७६:७७ मा कृषि ६० लाख र पशु विकास कार्यक्रममा रु ४० लाख बजेट विनियोजन गरेको हो । तिनाउका दोभान, मस्याम, झुम्सा, कोलडाँडा, सत्यवती, ओखलढुङ्गालाई तरकारी उत्पादन क्षेत्र, ओखलढुङ्गालाई माहुरीपालन, अम्रिसो क्षेत्र, सत्यवती, चौकीभञ्ज्याङ, कोलडाँडा क्षेत्रलाई तेजपात र केरा उत्पादन क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम ल्याएको छ ।

गाउँसभाले लगाड र मस्यामको उपल्लो क्षेत्रलाई कफी खेतीको सभावना रहेकाले त्यसलाई प्रवद्र्धन गर्दै जाने कचल फाँटमा सिँचाइको केन्द्रीय आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा विकास गर्ने पूर्वधार निर्माणका कार्य सञ्चालन गर्ने जसका लागि गरा सुधार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीको भनाइ छ ।

गाउँपालिकाले दोभान क्षेत्रमा माछापालनको सम्भावना रहेको हुँदा सम्भाव्य अध्ययन र परीक्षण परियोजना लागू गर्ने र लदुवा क्षेत्रलाई आलु तरकारी र काँक्रा उत्पादन क्षेत्र र भस्त खोला क्षेत्रलाई च्याउको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ गाउँपालिका अघि बढेको छ ।

आगामी वर्षदेखि धान र मकैको बीज वृद्धि कार्य परीक्षणका रुपमा सञ्चालन गर्ने, कृषि उत्पादनका लागि समूहगतरुपमा मिनीटिलर, थेस्रर वितरण गर्ने कार्यक्रमलाई निरन्तरता प्रदान गरिनेमा जोड दिएको छ । बेंशी क्षेत्रमा आँप लिची र केरा तथा दोभानको माराबाँस, बडहरे, गाउँपालिकाको माथिल्लो क्षेत्रलाई कागती पकेट क्षेत्रका रुपमा विकास गरिनेछ । त्यसैगरी कृषकलाई विभिन्न तालीमको र अनुदानको व्यवस्था छ ।