गण्डकी प्रदेश

पानीका मुहानहरु सुक्ने क्रम बढेपछि एक वडाः एक पोखरी निर्माणलाई प्राथमिकता

दमौली। तनहुँको भानु नगरपालिकाले एक वडाः एक पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । पानीका मुहानहरु विस्तारै सुक्ने क्रम बढ्दै जाँदा स्थानीयवासी समस्यामा परेकाले वातावरणीय अनुकूलता कायम राख्न हरेक वडामा एक पोखरी निर्माणको अभियान थालनी गर्न लागिएको हो ।

प्राकृतिक र परम्परागत पोखरी संरक्षण गरी आकाशेपानी सङ्कलन गर्न नगरपालिकाको १३ वटै वडामा पोखरी निर्माण गरिने नगरपालिकाका उपप्रमुख आशा थापाले बताए । नगरपालिकालाई घरभित्रको धुँवारहित बनाउन ‘धुँवारहित चुलो उज्यालोसहितको घर’ बनाउने, शहरी सौन्दर्यका लागि ‘एक घरः दुई बिरुवा, एक वार्ड हरियाली पार्क’ निर्माण कार्यक्रम सञ्चालन गरिने थापाले जानकारी दिए ।

नगरपालिका क्षेत्रभित्र सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण गर्न पहल गर्ने र उत्तरीभेग कालीमाटी कुन्छा सडक, रुपाकोट, राइपालीभञ्ज्याङ हुँदै मिर्लुङकोट, पोखरीछाप, तनहुँसुर, नावरुङ, मैवलकोट, रिमाल्नी नागनागिनी बिरुवा भन्सारलगायतका सडक निर्माण गरी स्तरोन्नति गर्न पहल गरिने नगरपालिकाले जनाएको छ ।

एक वडाः एक खेल मैदानको अवधारणाअनुरुप जग्गा पहिचान तथा खेलकूद पूर्वाधार विकास योजना तयार गरी कार्यान्वयन गर्ने, नगरस्तरीय तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय बसपार्कको उपयुक्त व्यवस्थापन र सञ्चालन गर्ने, सडक निर्माण तथा मर्मतसम्भार गर्दा श्रममूलक वातावरणमैत्री र सहभागितामूलक अवधारणालाई प्राथमिकतामा राखिएको नगर उपप्रमुख थापाले बताए ।

नगरपालिकाले जैविकखेती हरियो तरकारी, एक घर एक करेसाबारी’, एक वडाः एक नर्सरी स्थापनालाई प्राथमिकतामा राखेको छ भने जैविक विविधताको सम्वद्र्धन र सदुपयोग गर्दै जलवायु परिवर्तन अनुकूल प्रविधिको विकास गरी कृषिजन्य उत्पादनमा प्राङ्गारिक खेतीलाई प्रोत्साहित गर्ने नीति नगरपालिकाको छ ।

कृषि उत्पादकत्व वृद्धि गर्न यान्त्रीकरणमा जोड दिई बीउ बैंक स्थापना गर्ने, विदेशबाट फर्किएका र प्राविधिक ज्ञान भएका युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने, कृषिउपज सङ्कलन तथा सुरक्षा गर्न शीतगृह निर्माणलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।

नगरमा सङ्कलन हुने कर, राजश्व, शुल्कलगायतलाई व्यवस्थित र नियमन गर्दै उक्त कर पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गरिनेछ । गौलीका अनुसार प्रगतिशील कर प्रणालीको आधारमा करको दायरा बढाइने र सीमान्तकृत एवं सुविधाबाट वञ्चित समूहको भलाइका लागि प्रयोग गरिनेछ ।

कर व्यवस्थापनलाई वैज्ञानिक, यथार्थतापरक र व्यवस्थित गर्न कम्प्युटरकृत प्रणालीबाट डाटावेशको आधारमा थालनी गरिएको कर शुल्क सङ्कलन कार्यलाई थप प्रभावकारी बनाइने गौलीले बताए । उनका अनुसार नगरपालिकालाई संविधानत प्राप्त भएको राजश्व सङ्कलनका समग्र क्षेत्रलाई समेटेर राजश्व सम्भाव्यतासम्बन्धी बृहत् अध्ययन, अनुसन्धान प्रतिवेदन तयार गरी आयका क्षेत्र पहिचान गरिने छ ।