पर्यटन/संस्कृति

संस्कृतिको संरक्षण गर्न धिमाल सङ्ग्रहालय निर्माण हुँदै

दमक। पूर्वका आदिवासी धिमालहरूले आफ्नो कला, संस्कृतिको जर्गेना गर्ने उद्देश्यले व्यवस्थित सङ्ग्रहालय निर्माण थालेका छन् । आफ्नो संस्कृति संरक्षणका लागि झापाको दमकमा धिमालहरूले जातीय विकासका लागि सांस्कृतिक सङ्ग्रहालय निर्माण थालेका हुन् ।

धिमाल सांस्कृतिक सङ्ग्रहालयका लागि स्थानीय स्रोत, प्रदेश र सङ्घीय सरकारको सहयोगमा निर्माण शुरु गरिएको सङ्ग्रहालय निर्माण समितिले जनाएको छ । दमक नगरपालिकाले धिमाल जातिलाई आफ्नो नगरको पहिलो नागरिकको रूपमा घोषणा गरेको छ । सङ्ग्रहालयका अध्यक्ष तथा दमक नगरका पूर्वनगर उपप्रमुख लोकबहादुर धिमालले अहिले सङ्घ र प्रदेश सरकारको रु ४५ लाख बजेटमा दमक–९ स्थित सङ्ग्रहालयको जग्गामा धमाधम पूर्वाधार निर्माण थालिएको बताए ।

दुई वर्षअघिदेखि निर्माण शुरु गरिएको सङ्ग्रहालयमा परम्परागत रूपमा उपयोग हुँदै आएका गहना, बाजा, खेतीपातीका औजार, उपकरण, मूल पेशा माछा मार्ने शैली र औजार, विभिन्न सांस्कृतिक उत्सवमा प्रयोग हुने पोशाकलगायतका सामग्री राखिने छन् । ती सामग्री लोप हुँदै गएपछि सामुदायिकस्तरबाट सङ्ग्रहालय निर्माण थालिएको हो ।

यसअघि नगरपालिकाको प्रवेशद्वारमै प्रथम नागरिक धिमाल जातिको सालिक राखिएको छ । नगरभित्र धिमाल जातिको लोपोन्मुख संस्कृति संरक्षणका लागि सङ्ग्रहालय स्थापनाले आउने पुस्तामा संस्कृति पुस्तान्तरणमा समेत सहयोग पुग्ने सङ्ग्रहालयका अध्यक्ष धिमालले बताए । उहाँका अनुसार निर्माणाधीन सङ्ग्रहालयमा धिमाल समुदायको जन्म, शिशु स्याहार, खेती–किसानी, माछा मार्ने चलन, हाट–बजार, विवाह, वृद्धावस्था तथा मृत्यु संस्कारसमेत झल्कने प्रतिमाहरू अलग–अलग टहरामा निर्माण भइरहेका छन् । परिसरको मध्यभागमा एक पोखरी निर्माण गरी नगरको आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

पछिल्लो समय धिमाल जातिको महत्वपूर्ण संस्कृति खोप्रा (खेतीमा गोठ बस्ने चलन), डाग्राइनी (सुडेनी) लोप भइसकेका छन् । यस्तै माजिवाराङ्ग गाउँ प्रमुख हुने, श्रीजात, जात्री मेलासमेत लोपोन्मुख अवस्थामा पुगेका छन् । विश्वमा नेपालको विविधतालाई चिनाउन पनि लोपोन्मुख जाति र संस्कृतिको संरक्षण गर्नुपर्ने धिमाल जातिका विज्ञ डा सोमबहादुर धिमालले बताए ।

विसं २०६८ को गणनाअनुसार नेपालमा धिमाल जाति २६ हजार २९८ रहेका छन् । लोपोन्मुख जाति र उनीहरूको संस्कार, संस्कृति संरक्षणले विविधताको पहिचान, पर्यटन र खोज अध्ययनका लागि समेत राम्रो स्रोतका रूपमा सङ्ग्रहालय उपयोगी हुने दमक–९ का वडाध्यक्षसमेत रहेका धिमालका अगुवा रामबहादुर धिमालले बताए ।