बाग्मती

बनेपामा घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक सञ्चालन

बनेपा। राट्रिय निर्माण मञ्च नेपालले बनेपा नगरपालिका–५ स्थित घोकेचौरमा घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक सञ्चालन गरेको छ ।

वडा कार्यालयको सहकार्यमा भएको मनोसामाजिक विमर्श कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो । “घरेलु हिंसाको पीडामा परेका र अन्य विविध कारणले जोखिम वर्गमा परेकालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरेका हौँ”, वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले भने “नयाँ संविधानमा जारी भएको कानूनी व्यवस्थाको जानकारी, हिंसा भइहाल्यो भने कानूनमा के–के व्यवस्था, हिंसा नै हुन नदिन के गर्न सक्छौँ र घरेलु हिंसा भइहाल्यो भने उजुरी गर्ने निकाय कहाँ हो भन्नेलगायतका विषयमा सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

यदि कसैलाई त्यस्तो केही समस्या भएमा कानूनी परामर्श र सामाजिक मनोविमर्शकर्ताबाट आवश्यक सहयोग प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

मनोसामाजिक विमर्शकर्ता तथा सिर्जनशील संस्था नेपालका अध्यक्षसमेत रहनुभएका प्रतिमा शर्माले घरेलु हिंसामा परेका व्यक्तिमा बढीजस्तो विवाहित महिला पाइएको बताए । “अध्ययनका क्रममा र हामीले ‘काउन्सिलिङ’ गर्ने क्रममा पनि धेरैजसो आपसमा बुझ्न नसक्दा श्रीमान्बाट पीडित बनेका, घरपरिवारबाट र समाजबाट पीडित बनेका महिला पाइएको छ”, उनले भने, “त्यस्ता महिलालाई हामीले ऊर्जा प्रदान गर्ने र आवश्यक परामर्श दिने हो ।” त्यससँगै उनले विदेशमा जाने मानसिक पीडामा परेका युवाका लागि इन्टरनेटबाट मनोशिक्षा परामर्श दिने गरेकोसमेत बताए ।