समाचार

तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्छौँः मन्त्री भट्टराई

परासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले तीनै तहका सरकार मिलेर रामग्रामको विकास गरिने बताएका छन् ।

पश्चिम नवलपरासीको ऐतिहासिक रामग्राम स्तूप क्षेत्रको अवलोकनमा आएका मन्त्री भट्टराईले स्थानीय अगुवासँगको अन्तरक्रियामा भने, “यो स्तूप क्षेत्रको विकासमा प्रधानमन्त्रीको पनि विशेष चासो रहेको छ, हामी सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार मिलेर यसको विकास गर्छौँ तर संरक्षण गर्ने काम तपाईँहरुकै हो ।”

मन्त्री भट्टराईले लुम्बिनी गुरुयोजनानुसार रामग्रामको ऐतिहासिकता र पुरातात्विकता संरक्षण हुने गरी विकासका संरचना अघि बढाइने उल्लेख गरे । “रामग्राम स्तूप क्षेत्र अब हिजोको जस्तो अवस्थामा हुने छैन, गुरुयोजनाअनुसार हामीले यसको ऐतिहासिकता जोगाएर आवश्यक संरचना बनाउछौँ र भैरहवामा विमानस्थल बनेपछि यहाँ पर्यटन आगमन थप बढ्नेछ”, उनले भने ।

सो अवसरमा प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले रामग्रामको विकासमा प्रदेश सरकारले यस वर्ष बुद्ध सङ्ग्रहालय, स्तूप र देउरवा जोड्ने पुल निर्माणका लागि प्रक्रिया शुरु गरिसकेको जानकारी दिए ।

यसैगरी लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयलेरु सात अर्ब १३ करोडको लागतमा स्तूपको काम भइरहेको जानकारी दिए । उनले भने, “हामी एक वर्षदेखि जग्गा अघिग्रहणको लागि लागिरहेका छौँ, त्यसको फाइल अहिले अर्थ मन्त्रालयमा पुगेको छ, त्यसका साथै यहाँ सङ्ग्रहालय र ध्यान केन्द्र पनि बनाउने योजना बनाएका छौँ ।”