समाचार

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी यादव पक्राउ

ओखलढुङ्गा । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।

सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ ।
पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।

मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो । प्रहरीले जङ्गलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।

किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएका हुन् । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ ।

डेढ महीना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो । घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।