स्वास्थ्य

साहित्यकार विरहीको उपचार सहयोगको लागि बाँकेमा आर्थिक सङ्कलन अभियान शुरु

राँझा। अग्रज पत्रकार एवं साहित्यकार रेशम विरहीको उपचारमा सहयोग गर्न बाँकेमा आर्थिक सङ्कलन अभियान शुरु भएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले शुरू गरेको अभियानमा रु एक लाख २५ हजार सङ्कलन भएको अध्यक्ष ठाकुरसिंह थारूले बताए ।

पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील विरही हाल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ । हाल भरतपुर महानगरपालिका–१६ चितवनमा बसोबास गर्दै आएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेले साहित्यकार विरहीको उपचार सङ्कलन अभियान शुरु गरेको भोलिपल्टै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले एक महीनाको आफ्नो तलबभत्ता रु ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए।

एक दुईदिनभित्रै नगरप्रमुख राणाले रकम प्रदान गर्ने महासङ्घ अध्यक्ष थारूले बताए । उनका अनुसार, महासङ्घका साधारण सदस्य र नेपालगञ्जका उद्योगी व्यापारीले पनि विरहीको उपचारमा स्वस्फूर्त सहयोग प्रदान गरिरहेका छन् । चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसक्नुभएका विरहीका नौ वटा कृति प्रकाशित भइसकेका छन् ।