अन्तर्राष्ट्रिय

भेनेजुएलाले वार्ता टोली नपठाउने

कराकस । भेनेजुएलाले बारबारडोसमा हुन लागेको विपक्षी दलका प्रतिनिधिहरुसँगको वार्ताका लागि आफ्नो तर्फको वार्ता टोली नपठाउने भएको छ ।

भेनेजुएला सरकारले अर्को चरणको वार्ताका लागि टोली पठाउने बताएकोमा पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्धको नयाँ कार्यक्रम घोषणा गरेको कारण देखाएर सो वार्ताका लागि सरकारी प्रतिनिधि नपठाउने भएको जनाएको हो ।

भेनेजुएला सरकार र त्यहाँका विपक्षीहरुकाबीचको वार्ता बिहीबार र शुक्रबारका लागि तय भएको थियो । उक्त वार्ताका लागि आफूहरुले प्रतिनिधि नपठाउने निर्णय गरिएको भेनेजुएलाका सरकारी अधिकारीले जनाएका छन् ।

भेनेजुएलाको सरकारका वार्ता टोलीका प्रमुख जर्ज रोड्रिगुजले दिएको जानकारी अनुसार अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीको विरोधस्वरुप भेनेजुएला सरकारले सो वार्ता टोलीमा प्रतिनिधि नपठाउने निर्णय गरेको जानकारी दिए ।

बुधबार साँझ प्रकाशन भएको विज्ञप्तिमा सो जानकारी दिइएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले नै सो निर्णय गर्नु भएको उक्त विज्ञप्तिमा जानकारी दिइएको हो ।

भेनेजुएलामा जारी राजनीतिक विवादको अन्त्यको पहलस्वरुप यहाँको सरकार र विपक्षी दलले गएको मे महिनादेखि वार्ता थालेका हुन् । मे महिनामा पहिलो वार्ता नर्वेको राजधानी ओश्लोमा भएको थियो ।

अर्को चरणको वार्ता बारबारडोसमा बिहीबार र शुक्रबार हुन लागेको थियो । तर सरकारले नै प्रतिनिधि नपठाएपछि सो वार्ता स्थगित हुने भएको हो ।