गण्डकी प्रदेश

विकको दुबै मिर्गौला काम नलाग्ने भएपछि सहयोग गरिदिन आग्रह

बलेवा। दुवै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि सहयोगको खोजी गरिएको छ । बागलुङ नगरपालिका–४ का ५२ वर्षीय रेशमबहादुर विकको उपचारका लागि परिवारका सदस्य र विश्वकर्मा समाजले सहायोगको खोजी गरेको हो ।

विसं २०६७ मा आफ्नै दिदी सुनिताले दिएको एउटा मिर्गौलाको भरमा बाँचेका विकको फेरि काम नलाग्ने भएपछि प्रत्यारोपण गर्नुपर्ने भएको हो । अहिलेसम्म झण्डै रु एक करोड खर्चिनुभएका विकले पुनः अर्को प्रत्यारोपण गर्नुपर्ने भएपछि सहयोगको याचना गर्नुपरेको बताए । कम्तीमा छ महीना औषधि खाएर रक्त समूह मिलाउन सकियो भने विकले आफ्नै श्रीमती चन्द्रकलीको मिर्गौला प्रत्यारोपण गर्न सकिने चिकित्सकले सल्लाह दिएका छन् ।

विश्वकर्मा समूहले अगुवाइ गरेर उनलाई सहयोग सङ्कलन थालिएको ओमबहादुर विश्वकर्माले बताए । मिर्गौलापीडितलाई राज्यले रु साढे चार लाखसम्म अनुदान दिने व्यवस्था गरेको छ । उक्त अनुदानले काठमाडौँमा बस्दा खानलाउन पनि नपुग्ने विक बचाउ अभियानका कृष्ण विकले बताउए । अब कम्तीमा रु २५ लाख भएमा मात्र उहाँको मिर्गौला प्रत्यारोपण हुनसक्ने बताइएको छ । उपचारको क्रममा विकले यसअघि दुई घडेरी बिक्री गर्नुभएको छ भने घर धितो राखेर लाखौँ रकम ऋण लिएएका छन् । विकका दुई छोरा र एक छोरी छन् ।