साहित्य

बाल साहित्यकार घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन

काठमाडौँ । बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन गरिएको छ । सानै उमेरदेखि नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा लाग्नुभएका १७ वर्षीय घिमिरेको उक्त उपन्यास बुधबार साँझ विमोचन गरिएको हो ।

रुद्र तुल चन्द्र प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको विमोचन नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले गरे । कार्यक्रममा नेता आचार्यले कक्षा ९ मा अध्ययनरत घिमिरेको उपन्यासमा कल्पनाशीलता भेटिएको बताए । “सानै उमेरमा यस्तो कल्पना गरेर उपन्यास लेख्नु बाल साहित्यकार घिमिरेको विशेषता हो”, उनले भने । घिमिरेको उपन्यासले नेपाली साहित्य जगत्मा नयाँ आयाम थपेको उनको भनाइ थियो ।

बाल्मिकी क्याम्पसका प्रमुख प्रा डा गणेशप्रसाद घिमिरेले लेखकले आफ्नो पठनपाठनका लागि होस्टल जाने मनस्थितिलाई समावेश गरेर लेखिएको उपन्यासलाई कलात्मकरूपमा प्रस्तुत गरेको बताए । स्कूलमा पढ्दापढ्दै कविता, उपन्यासलगायतको साहित्य सिर्जना गर्नु ठूलो कुरा भएको उनको भनाइ थियो ।

बाल साहित्यकार घिमिरेले आफूले होस्टल पढ्न आउँदा गरेका सङ्घर्षलाई पुस्तकमा उतारेर उपन्यास बनाएको बताए । उपन्यास १७ शीर्षकमा लेखिएको छ । कार्यक्रममा सत्य साई शिक्षा सदन टोखाका प्राचार्य प्रा डा नरोत्तम उपाध्यायलाई दोसल्ला ओठाएर सम्मान गरिएको थियो ।