कर्णाली प्रदेश

दैलेखबाट शुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि शुरु

सुर्खेत। गत वर्षदेखि दैलेखबाट शुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि शुरु गरिएको छ । बालिकालाई यौन दुव्र्यवहार तथा बलात्कारबारे कानूनी जानकारी गराउनुका साथै उनीहरुको आत्मबल बढाउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको हो ।

गैरसरकारी संस्था भिएसओःआइसीएसको सहयोगमा यहाँका नौ वटै स्थानीय तहका समुदाय र विद्यालयमा अभियान सञ्चालन गरिनेछ । अभियानका संयोजक सजना सुनारले दैलेखका विभिन्न समुदाय र विद्यालयमा अभियान प्रभावकारी भएपछि सुर्खेतमा पनि शुरु गरिएको जानकारी दिए । अभियानबाट बालिकाले कानूनी ज्ञान हासिल गर्नुका साथै आत्मबल बढ्ने हुँदा यौनजन्य हिंसामा कमी हुने उनले विश्वास व्यक्त गरे ।

संयोजक सुनारका अनुसार वीरेन्द्रनगर नगरपालिकाको वडा नं १ बाट अभियान शुरु भइसकेको छ । “आवश्यकताका आधारमा अन्य स्थानमा पनि अभियान सञ्चालन गर्नेछौँ”, उनले भने, “जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक र बालिकालाई अभियानमा प्रत्यक्ष सहभागी गराइएको छ, मुख्य उद्देश्य त बालिकाहरुको आत्मबल बढाई यौनजन्य हिंसाविरुद्ध प्रतिकारमा उर्तानु नै हो ।”