प्रदेश 1

बाक्सिलाबजारमा चित्राको छाप्रो हटाएर स्टिल ट्रष्ट निर्माण शुरु

खोटाङ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजार स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिलाबजारको होटल तथा पसललाई आधुनिक तरिकाले व्यवस्थित गर्न थालिएको काम अन्तिम चरणमा पुगेको हो ।

केपिलासगढी गाउँपालिका–४ मा पर्ने बाक्सिलाबजार व्यवस्थित गर्न प्रदेश नं १ सरकारबाट रु एक करोड बजेट विनियोजन भएको थियो । विशेषगरी जैविक कृषि उपज खरीद तथा बिक्री हुने बाक्सिलाबजार व्यवस्थित गर्न प्रदेशसभा सदस्य राजन राईको पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको हो ।

दुई सय ७३ छाप्रे होटल तथा पसल सञ्चालन हुँदै आएको बाक्सिलाबजारमा १७५ स्टिल ट्रष्ट, बधशाला, खानेपानीको धारा, महिला तथा पुरुषका लागि छुट्टाछुटै चार शौचालय, फोहर व्यवस्थापन केन्द्र, ढल, प्रतीक्षालयलगायत सबै भौतिक निर्माणको काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवकुमार राईले बताए । “अहिले इन्टरलक र रङरोगनको काम भइरहेको छ”, उनले भने, “यही साउन मसान्तभित्र सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरेका छौँ ।”

हरेक बुधबार हटिया लाग्ने बाक्सिलाबजारमा सात फिट लम्बाइ र १० फिट चौडाइको आधुनिक स्टिल ट्रष्ट तथा भुइँमा सिमेन्टको ब्लक बिच्छ्याइएको छ । बाक्सिलाबजार उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र तथा ऐतिहासिकस्थलसमेत भएकाले त्यसलाई व्यवस्थित गर्दै आधुनिक बनाउने काम शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

पुरानो संरचना मात्रै रहेको ऐतिहासिकस्थल बाक्सिलाबजारमा उपभोक्ता तथा व्यापारीको चाप बढेपछि विशेषगरी खानेपानी तथा शौचालयको अभाव देखिएको थियो । करीब आठ रोपनी क्षेत्रफल जग्गा ओगटेको बाक्सिलाबजारमा गाउँपालिकाको केन्द्रसमेत स्थापना भएपछि उपभोक्ता तथा व्यापारीको चाप वृद्धि हुँदै गएको स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवानेता पवन श्रेष्ठले बताए ।

बाक्सिलाबजारमा जैविक कृषि उपजहरु मकै, कोदो, दाल तथा चामल, गुन्द्रुक, सागसब्जी, फलफूल, असला माछा, कुखुराको भाले, सुँगुरको पाठा, स्थानीय जातको बाख्राखसी तथा घरायसी औजारमा कोक्रो तथा थुन्से, डोकोःनाम्लो, नाङ्लोःडालो, भकारी, चित्रालगायत खरीद तथा बिक्री हुने गरेको छ । बाक्सिलाबजारमा पाइने कृषि उपज तथा सामग्री खरीद गर्न खोटाङको अधिकांश स्थानीय तह, छिमेकी जिल्ला भोजपुर, ओखलढुङ्गा तथा सोलुखुम्बुका उपभोक्ता आउने गरेका छन् ।

बाक्सिलाबजारमा अन्य बजारहरुमा पाइनेभन्दा जैविक र सुपथ मूल्यमा कृषि उपज तथा घरायसी सामग्री पाइने भएपछि टाढा–टाढाका उपभोक्तासमेत बाक्सिलाबजार आउने गरेको स्थानीयवासीले बताएका छन् । किराँती सभ्यताको महत्व बोकेको ऐतिहासिकस्थल बाक्सिलाबजारमा गाउँपालिकाको केन्द्र स्थापना भएसँगै सुविधासम्पन्न होटल तथा पसलसमेत धमाधम स्थापना हुने क्रम शुरु भएको छ ।

पर्वतीय पर्यटन हिसाबले राम्रो सम्भावना बोकेको बाक्सिलाबजारमा गाउँपालिकाको कार्यालय स्थापना भएसँगै बैंक तथा वित्तीय संस्थासमेत स्थापना भइरहेको छ । एक दिन मात्र सार्वजनिक हटिया लाग्ने बाक्सिलाबजारमा दिक्तेलबजारबाट सामग्री लगेर व्यवसाय गर्ने व्यापारीको सङ्ख्या पनि उत्तिकै वृद्धि हुँदै गएको बजार व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट जाने अधिकांश व्यापारीले लत्ताकपडा तथा खुद्रा सामग्रीको व्यापार गर्दै आएका छन् । पछिल्लो समय बाक्सिलाबजार तथा गाउँपालिकाको केन्द्रसम्म सडक निर्माण गरेर नियमितरूपमा यातायातका सवारीसाधनसमेत सञ्चालनमा आएपछि आसपासका स्थानीयवासी नगदेबाली लगाउनुका साथै आयआर्जनका काममा व्यस्त हुन थालेका छन् ।

पर्यटकीय क्षेत्रमा पर्ने बाक्सिलाबजारको बीच भागमा बुद्धको सालिक रहेको छ । हिमाली शृङ्खला तथा उच्च पहाडी भू–भाग अवलोकन गर्न सकिने बाक्सिलाबजारको स्तरोन्नतिको काम शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।