बाग्मती

दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजारलाई नागरिकता प्रदान

हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजार ३७३ व्यक्तिलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवाअन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिमाणमा नागरिकता प्रदान गरिएको हो ।

स्थानीय तह तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला, किशोरकिशोरी, वृद्धवृद्धा अशक्त, आर्थिकरूपमा विपन्न तथा पछाडि पारिएका समुदायलाई नागरिकता प्रदान गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार सेवा लिनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । शिविरमा दुई हजार ७२१ महिला र एक हजार ६५२ पुरुषले नागरिकता लिएका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा १६ हजार ६५९ नयाँ नागरिकता वितरण गरेको तथ्याङ्क छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयले एक वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ लाई नयाँ नागरिकता वितरण गरेको हो । वंशजका आधारमा नागरिकता प्राप्त गर्नेमा पुरुष सात हजार १९ र महिला नौ हजार ५९४ छन् । यसैगरी वैवाहिक अङ्गीकृत नागरिकता १६ ले प्राप्त गरेका छन् भने ३० जनाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।

मकवानपुरमा गत वर्ष सात हजार ६८६ प्रतिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिए । सेवाप्रवाहलाई जनताको घरदैलोसम्म पु¥याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उनले जनाए ।

जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति, सुरक्षा र अमनचैनको व्यवस्था पूर्णरूपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यसअनुसार काम गरिएको प्रजिअ तामाङले बताए । जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेण्डासहित सञ्चालन गरिएको उनले जानकारी दिए ।

मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको नियमितरूपमा निरीक्षण गरिएको उनको भनाइ छ । गुण्डागर्दी, सङ्गठित अपराध, जबर्जस्ती असुली, महिला हिंसालगायतका अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको प्रजिअ तामाङको जिकिर छ ।