कर्णाली प्रदेश

चन्द समूहका केन्द्रीय सदस्यसहित तीन पक्राउ

रुकुमपश्चिम । नेत्रविक्रम चन्द नेतृत्वको समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले केन्द्रीय सदस्य ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरेको हो ।

जिल्लाको त्रिवेणी गाउँपालिका–२ का ४८ वर्षीय बोहरालाई मङ्गलबार राति १० बजे वडा नं ६ मुरुबाट प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय सदस्य बोहरासँगै सो समूहका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विद्यार्थी सङ्गठनका जिल्ला सम्मेलन आयोजक समिति सहसंयोजक त्रिवेणी गाउँपालिका–२ का १९ वर्षीय प्रेमप्रशान्त बोहरा र रुकुमपूर्वका जिल्ला सम्मेलन आयोजक समिति संयोजक आठबीसकोट नगरपालिका–११ का १८ वर्षीय हरि पुन रहेका प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

सो क्रममा मुरुमा सो समूहका नेता तथा कार्यकर्ता जम्मा भएर मङ्गलबार राति शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका अवस्थामा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।