समाचार

घुस लिएको आरोपमा अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग आयोगले लामो दूरीको यातायात सञ्चालनमा सहजता गरिदिने भन्दै सेवाग्रहीसँग घुस लिएको आरोपमा अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निज कटुवालले प्रहरी नायब निरीक्षक भीमबहादुर कटुवालको संलग्नतामा काँकडभिट्टा–काठमाडौँ गाडी चलाउन सहयोग गर्ने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आयोगले जनाएको छ । निज दुवैविरुद्ध आयोगले जनही पाँच÷पाँच हजार विगो माग दाबी गरेको छ ।

यस्तै आयोगले जग्गाको कित्ताकाट गरेबापत सेवाग्राहीसँग रु २० हजार घुस लिने नापी कार्यालय चितवनका सर्भेक्षक राजेश कर्माचार्यविरुद्ध पनि आरोपपत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।