अन्तर्राष्ट्रिय

तान्जानियाबाट मह निकासीको पहल

दार ए सलाम । तान्जानियाली वन विभाग (टीएफएस) ले मुलुकको मह उत्पादन वृद्धि गर्ने महत्वाकाँक्षी योजना अगाडि सारेको छ । पूर्वी अफ्रिकी मुलुक तान्जानियामा हाल ५५ हजार टन मह उत्पादन हुने गरेको छ ।

आगामी वर्षदेखि वार्षिक एक लाख ३५ हजार टन मह उत्पादन गरिने योजना अघि सारिएको छ ।

विभागका कार्यकारी अधिकृत डोस सान्तोस सिलायोले यसै वर्षको अन्त्यतिर शुरु हुने नयाँ परियोजनामा लगानी गर्न युरोपेली संघले सहमति जनाएको बताए । कार्यक्रम अनुसार मौरीपालनका लागि आधुनिक घार उत्पादन गर्न र मह उत्पादनका लागि रणनीतिक महत्वका क्षेत्रमा संकलन केन्द्रहरु बढाउन अध्ययन भइसकेको छ ।

सिलायोले तान्जानियाली मह युरोपेली मुलुकहरु, संयुक्तराज्य अमेरिका र एसियाली मुलुकहरुमा निकासीका लागि स्वीकृत भइसकेको जानकारी दिए ।

उनले भने, “हाम्रो विश्वास छ सरकारी वनक्षेत्रमा बढ्दै गएको मौरीपालनले वन क्षेत्रको संरक्षणमा पनि योगदान दिने हामीले ठानेका छौं ।”