खेलकुद

नेपाल इ–स्पोर्टस् च्याम्पियनसिप भदौमा

काठमाडौँ । नेपाल इ–स्पोर्ट्स सङ्घ (नेस) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा दोस्रो नेपाल इ–स्पोर्टस् च्याम्पियनसिप तथा एक्स्पो हुने भएको छ । आगामी भदौ २० र २१ गते हुने उक्त च्याम्पियनसिपमा डोटा–२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सिभ (सिएस–गो), फिफा, कस्प्ले र क्लासरुम रकर्समा प्रतिस्पर्धा हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक नेसका अध्यक्ष सुरज डङ्गोलले जानकारी दिए ।

डोटा र सिएस खेलमा हरेक टोलीमा पाँच खेलाडी रहनेछन् । त्यस्तै इ–स्पोर्टस् च्याम्पियनसिपमा एकल विधातर्फ फुटबल खेलका प्रसिद्ध खेल फिफा र कस्प्ले खेल भन्नाले एनिमेसन र कार्टुन क्यारेक्टरको पहिरनमा सजिनु हो । त्यस्तै क्लासरुम रकर्समा विभिन्न कलेज तथा स्कूलका सङ्गीत ब्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटकको डोटा–२ च्याम्पियन ११औँ विश्व च्याम्पियनसिपका लागि छनोट हुनेछ । उक्त विश्व च्याम्पियनसिप सन् २०१९ डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुनेछ । प्रतियोगिताको डोटा–२ र सिएस–गो तर्फका विजेताले जनही रु ५० हजार तथा उपविजेताले रु २० हजार पाउनेछन् । त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु १० हजार पाउने छन् ।

त्यस्तै फिफातर्फका विजेताले रु १० हजार, उपविजेताले रु चार हजार र सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु दुई हजार पाउनेछन् । क्लासरुम रकर्सका विजेताले रु २० हजार तथा उपविजेताले रु १० हजार पाउनेछन् । उक्त प्रतियोगितामा करीब ८०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । नेपाललमा ई–स्पोर्टस्को व्यापार र यसको विस्तारमा रहेको सम्भावनालाई जनमानसमा पुर्‍याउने लक्ष्य लिएर एक्स्पोकोसमेत आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।