खेलकुद

राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप चितवनमा हुने

ललितपुर । रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराह, न्यू स्टार र सौराह डोजाङको संयुक्त आयोजनामा चितवनमा तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ ।

आगामी कात्तिक १ र २ गते चितवनको रत्ननगर नगरपालिकामा आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २४ र महिलामा २२ गरी कूल ४६ तौल समूहमा प्रतिस्पर्धा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका संयोजक पुष्प जोशीले जानकारी दिए ।

त्यस्तै पुम्सेतर्फ पुरुषका पाँच र महिलाका चार गरी नौ विधामा प्रतिस्पर्धा हनेछ । प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र कास्यमा १३० गरी कूल २६० पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डशिप तेक्वान्दो च्याम्पियनशिप -आइओएफटिसी_ र ललितपुरको मैत्री तेक्वान्दो डोजाङले सहयोग तथा सहकार्य गर्ने आयोजकले जनाएको छ ।

च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाका ६।६ तौल समूहका प्रतिस्पर्धामा प्रथम हुने खेलाडीलाई पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन पुरुष र दुई जना महिला तेक्वान्दो खेलाडीलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिनेछ । पाँच जना खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिर्भसिटीमा सन् २०२० को मे १ र २ मा हुने १३औँ अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागिसमेत छनोट हुनेछन् ।

सोही कार्यक्रममा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका निर्देशक दिवाकर महर्जनले पहिरा पीडित र अनाथ बालबालिकालगायतका विभिन्न सङ्घसंस्थालाई रु तीन लाख ७५ हजार सहयोग प्रदान गरिने छ ।