समाचार

काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको छ: महामन्त्री कोइराला

दमौली । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिए ।

“काङ्ग्रेसलाई नयाँ दिशा दिनसक्ने सभापति अबको महाधिवेशनबाट निर्वाचित हुनुपर्छ”, महामन्त्री कोइरालाले भने, “त्यसका लागि कार्यकर्ताले आजैदेखि मानसिकता बनाउनुपर्छ ।” पार्टीभित्र रहेको गुट।उपगुट अन्त्य गर्दै काङ्ग्रेसलाई एक ढिक्का बनाउने नेतृत्व कार्यकर्ताले रोज्नुपर्ने उनले बताए ।

“मैले यसो भनिरहँदा पार्टी सभापति शेरबहादुको विरोध गरेको होइन,” उनले भने, “तर पार्टीभित्र नेतृत्व परिवर्तनको खाँचो छ, नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षको व्यक्ति म हुँ ।” काङ्ग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गर्दै महामन्त्री कोइरालाले हारे आफ्नै कारणले मात्र हार्ने ठोकुवा गरे ।

उनले पार्टीको प्रदेश संरचना गठन हुन बाँकी रहेकाले प्रदेशको संरचना टुङ्गो लगाएपछि पार्टीको महाधिवेशन हुने जानकारी गराए । “अहिले प्रदेशमा चुनाव गराएर भन्दा पनि सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्नेतर्फ पार्टीमा छलफल भइरहेको छ,” उनले भने ।

उनले मातृशोकमा रहेका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई आज नै भेटी समवेदना प्रकट गरेका छन् । कोइरालाले दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना व्यक्त गरेका हुन् ।