लुम्बिनी

सदस्य भट्टराईद्वारा दलित समुदायलाई घर हस्तान्तरण

खस्यौली। रुपन्देहीको कञ्चन गाउँपालिका–२ स्थित रातामाटामा निर्माण भएका पाँच घर आज स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले दलित समुदायका पाँच जनालाई शौचालयसहितको जस्तापाता लगाएको दुईकोठे भवनको ताला तथा चाबी हस्तान्तरण गरे ।

सङ्घीय सरकार तराई मधेश समृद्धि कार्यक्रम र कञ्चन गाउँपालिकाको संयुक्त लगानीमा मुुसहर तथा दलित बस्तीका लागि घर निर्माण भएको थियो । एक घरका लागि रु दुई लाख २० हजार लगानी रहेको बताइएको छ ।

सङ्घीय सरकारको रु एक करोड र कञ्चन गाउँपालिकाको रु १० लाख लगानीमा सो गाउँपालिकाका सबै वडामा ५० घर निर्माण भएको छ । गाउँपालिका–२ मा मात्रै २५ घर छ भने प्रत्येक वडामा पाँच–पाँच घर निर्माण भएको छ । निर्माण भएका २५ घर मुसहर र २५ घर दलित बस्तीका लागि निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सरकारी जग्गामा निर्माण भएको आवासमा बस्ने व्यक्तिको स्वामित्व रहेको छैन ।

सो अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य भूमिश्वर ढकालले दलित र गरीब समुदायलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।

राष्ट्रियसभाका सदस्य भट्टराईले कानून बनाएर सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने उल्लेख गर्दै अवसर नभएकालाई आवास बनाइदिने सरकारको योजना रहेको बताए । उनले भने, “अब कसैले पनि भोकै मर्नुपर्दैन, उपचार नपाएर मर्नुपर्दैन ।”

गाउँपालिका कार्यालयको शिलान्यास

रुपन्देहीको कञ्चन गाउँपालिका कार्यालयको नवनिर्मित भवनको आज गजेडीमा शिलान्यास भएको छ । गाउँपालिका–२ मा निर्माण हुन लागेको भवनको राष्ट्रियसभाका सदस्य भट्टराईले शिलान्यास गरे । रु पाँच करोड तीन लाख लागतमा निर्माण हुन लागेको भवन चारतलाको हुने बताइएको छ । स्थानीय मुकेश श्रेष्ठले दिएको एक बिघा जग्गामा सो भवन निर्माण हुन लागेको हो । भवनमा हलसहित ४४ कोठा रहने इञ्जिनीयर स्मित थापाले जानकारी दिए ।