साहित्य

सैनामैना दर्पण विमोचित

रुपन्देही। रुपन्देहीको प्राचीन तथा पुरातात्विक महत्वको सैनामैना नगरपालिकासँग सम्बन्धित सैनामैना दपर्णग्रन्थको विमोचन भएको छ ।

आज सैनामैनामा आयोजित कार्यक्रममा दपर्णग्रन्थको विमोचन गर्दै पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले दर्पणग्रन्थले सैनामैनाको महत्व उजागर गरेको बताए । उनले बुद्धकालीन सम्पदाको चर्चा गर्दा सैनामैनाको नाम बिर्सन नहुनेमा जोड दिए ।

“अबका दिनमा लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामको चर्चा गर्दा सैनामैनाको पनि नाम आउनुपर्छ”, उनले भने । महासचिव पौडेलले बौद्ध संस्कृति र सम्पदाको अध्ययनका लागि सैनामैना महत्वपूर्णस्थल भएको बताए ।

नगरप्रमुख चित्रबहादुर कार्कीले ऐतिहासिक, पुरातात्विक महत्वको स्थान सैनामैनाको विकासमा सहयोग गर्न सङ्घीय सरकारलाई आग्रह गरे । नगरउपप्रमुख बीना राना, दर्पणग्रन्थका संयोजक झपेन्द्र जिसी, सदस्य डा गितु गिरी लगायतले सैनामैनाका प्राचीन सम्पदाले संरक्षण र संवद्र्धनका लागि आग्रह गरे ।

दर्पणग्रन्थमा सैनामैनाको परिचय, नगरपालिकाको प्रागऐतिहासिक र ऐतिहासिक पृष्ठभूमि, प्राचीन कपिलवस्तु, सिद्धार्थ बुद्ध र सैनामैनाको महत्व, कपिलवस्तुको खोज अनुसन्धान, सेनवंशीय शासनकालको अभ्यूदय र महत्व, सैनामैनाका पुरातात्विक स्थलहरुका बारेमा विस्तृत जानकारी दिइएको छ ।

त्यस्तै नगरपालिकासँग निकट सम्बन्ध गाँसिएका महत्वपूर्ण स्थलहरु, सैनामैनाको सभ्यता र संस्कृति, सैनामैनाको पर्यटकीय सम्भावना, वास्तुकलाका विषयमा समेत ग्रन्थमा चर्चा गरिएको छ ।