समाचार

श्रममन्त्री विष्टद्वारा सचिव दाहालसँग कार्य सम्पादन सम्झौता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग कार्य सम्पादन सम्झौता गरेका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँहरुले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यस्तै सचिव दाहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

यसैगरी सहसचिवहरुले आ–आफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमाभित्रै हासिल गर्न चाल्नुपर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गरेका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् । कार्यक्रममा मन्त्री विष्टले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्यपालनामा सघाउ पुर्‍याउने बताए । उनले समयसीमा भित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न निर्देशन दिए ।

सो अवसरमा मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गरेका थिए । मन्त्रालयले आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने जनाएको छ ।