समाचार

भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्नुपर्छ: सांसद पौड्याल

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद डा विमला पौड्यालले ‘पर्यटनसँग सम्बन्धित भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न’ प्रस्तुत गरेका जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल शुरु भएको छ ।

छलफलमा सहभागी सांसदले भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्नुपर्ने सांसद डा राईको प्रस्तावको समर्थन गर्दै सोसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सो प्रस्तावमाथि उठेका प्रश्नको उत्तर दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने तयारी भइरहेको जानकारी दिए ।

मन्त्री भइसकेपछि पहिलोपटक राष्ट्रियसभामा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मौलिक संस्कृति र नेपालका प्रमुख विशेषतालाई झल्काउने खालको विविधतालाई समेट्ने तयारी भएको बताए ।

मन्त्री भट्टराईले मौलिक कला र संस्कृति जोगाइराख्न भूकम्पबाट क्षतिग्रस्त २७८ सम्पदा पुनर्निर्माण भइसकेको र दुई वर्षभित्र ३८९ सम्पदा पुनर्निर्माण गर्ने तयारी भएको स्पष्ट पारे ।

पुनर्निर्माणमा नेपालबाट मात्र नभई दातृ राष्ट्रबाट पनि सहयोग आउने भएकाले समयमै निर्माण गर्न कठिनाइ हुने जानकारी दिँदै उनले नेपालको मौलिक कला र संस्कृतिको संरक्षणमा जोड दिन सबै मन्त्रालय र सरोकारवालापक्षसँग आग्रह गरे ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री तोकिएको सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुभएकाले दैनिक प्रशासनिक कामकारवाहीका लागि नेपालको संविधानअनुसार उपप्रधानमन्त्री पोखरेललाई कार्यभार तोकिएको थियो । यसैगरी प्रधानमन्त्रीको सिफारिसमा संस्कृति, मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिइएको बारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २६ गते अपराह्न १ बजे बस्नेछ ।