राजनीति

नेकपा महासचिब पौडेल भन्छन,सुकुम्बासी समस्या समाधानका लागि प्रभावकारी कदम चाल्छौँ

रुपन्देही। पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले अव्यवस्थित वसोबासलाई व्यवस्थित गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताएको छ । बुटवल उपमहानगरपालिका–२ को भवन उद्घाटन तथा ज्येष्ठ नागरिक मिलन केन्द्र शिलान्यास समारोहलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पौडेलले छिट्टै उच्चस्तरीय आयोग गठन गरेर सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने बताए ।

उनले आयोगमार्फत भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको पहिचान गरिने बताए । “भूमिसम्बन्धी ऐन संशोधन गरी बनेको विधेयक हाल सङ्घीय संसद्मा छलफलको चरणमा छ । विधेयकको टुङ्गो लागेपछि आगोग गठन गरी भूूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्छौं”, उनले भने ।

महासचिव पौडेलले बुटवलको गौरवका रुपमा जितगढी किल्लाको विकास गर्नुपर्ने धारणासमेत राखे । जितगढी किल्लालाई अन्तर्राष्ट्रिय महत्वको राष्ट्रिय सम्पदाका रुपमा विकास गर्नुपर्नेमा महासचिव पौडेलले जोड दिए । उनले तिनाउ पुल पुरानो अवस्थामा रहेकाले नयाँ निर्माण जरुरी रहेको र बुटवल–कोहलपुर सडक विस्तारको तयारी भइरहेको जानकारीसमेत गराए ।

उनले वडामा बजेटको सही सदुपयोग र कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । “जनप्रतिनिधि र जनताका काम नगर्ने अधिकार कर्मचारीलाई छैन । जनताका समस्या समाधानका लागि योगदान दिनु उनीहरुको दायित्व हो”, महासचिव पौडेलले भने । कार्यक्रममा प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले नगर सरकारको अनुभूति हुने गरी स्थानीय तहमा काम भइरहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले व्यवस्थित योजना निर्माण र कार्यान्वयन गरी समृद्ध नगरको परिकल्पना साकार गर्नु अहिलेको आवश्यकता रहेकामा जोड दिए ।