लुम्बिनी

विकासमा फड्को मार्दै खजुरा गाउँपालिका

राँझा । बाँके जिल्लामा नमूना गाउँपालिकाको रुपमा विकसित खजुरा गाउँपालिकाले विकासमा फड्को मारेको छ । वर्षात्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक अब खजुरा गाउँपालिकामा भेटिदैनन् । गाउँपालिकाभित्रका सडक कालोपत्रे, पिसिसी र ग्राभेल गर्ने कार्यसँगै खजुरा गाउँपालिकाको मुहार नै फेरिएको छ ।

गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम भइरहेको छ । हिलाम्ये र धुलाम्ये हुने गाउँपालिकाका सबै वडामा अहिले धमाधम सडक र नाली निर्माणको काम चलिरहेको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने कार्य सम्पन्न भएसँगै खजुरा गाउँपालिकाकौ मुहार फेरिएर जिल्लामै नमूना बन्ने बताउँछन् ।

उनका अनुसार गाउँपालिकाले आर्व २०७६।७७ मा गाउँपालिका भित्रका मुख्य र सहायक सडकमा नाला पुनःनिर्माण र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । गाउँपालिकावासीले सडक क्षेत्रमा निर्माण भएका पर्खाल, घर लगायतका संरचनाहरुलाई तोडेर सडक सहयोग गरेपछि काम गर्न सहज भएको उनको भनाइ छ । गाउँपालिकाको विकास योजनामा गाउँपालिकावासी र राजनीतिक दल सबैबाट सहयोग र समन्वय भइरहेको उनले जानकारी दिए ।

खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण कार्य शुरु भएसँगै बजारको रुप पनि फेरिँदैछ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम शुरु भएको छ । सङ्घीय सरकारको ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले चार लेन सडक निर्माण शुरु गरेको हो । पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको एक ८०० मिटर लम्बाइको चार लेन सडक डेढ वर्षभित्र सक्ने योजना छ ।

“चार लेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरिने भएको छ, सडक विस्तार कार्यले खजुरावासी उत्साहित छन्,” अध्यक्ष कक्षपतिले भने ।

अहिले खजुरा गाउँपालिकाको वडा नं १ राधापुरका सबैजसो सडक ग्राभेल भइसकेका । वडाध्यक्ष सुमन मल्लले अब खजुरा गाउँपालिकामा हिलो र धुलोको समस्या समाधान हुने क्रममा रहेको दावी गरे ।

गत आर्थिक वर्षमा मात्रै खजुरा गाउँपालिकामा १६ किलोमिटर सडक कालोपत्र गरिएको थियो । गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनीयर कञ्चन तिवारी खजुरा गाउँपालिकाको वडा नं ४ मा रहेको मुख्य सडक निर्माण सम्पन्न भएपछि अन्य भित्री सडकको निर्माण थालिने बताउँछन् ।

गाउँपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकाले गाउँपालिकामा विकास देखिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीको ठम्याइ छ । अब बर्र्खामा गाउँपालिकावासीले डुबानको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको दावी उनले गरे ।

उनका अनुसार केही वर्षभित्र गाउँपालिकाका सबैजसो सडक पक्की भई हरेक गाउँबस्ती नयाँ शहरमा परिणत हुनेछ । भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य र खानेपानी तथा सरसफाइका क्षेत्रमा समेत प्रभावकारी रुपमा काम भइरहेको उनको दावी छ ।

“पूर्ण खोपयुक्त गाउँपालिका रहेको खजुराले जिल्लामै दोस्रो स्थानीय तहका रुपमा गाउँपालिकालाई साक्षर घोषणा गर्न सफल भएको छ,” गाउँपालिकाका विज्ञ समूहका सदस्य पूर्णचन्द्र उपाध्याय भन्छन् – “खजुरा गाउँपालिकाले भौतिक पूर्वाधारसँगै सामाजिक विकासका क्षेत्रमा पनि त्यत्तिकै प्रभावकारी काम गरेको छ ।”

खजुरा गाउँपालिकाले ‘हरित कृषि र हरित शहरीकरण’ परियोजना सञ्चालनको सम्झौता गरेसँगै आर्थिक विकासमा ठूलो उपलब्धि मिल्नेमा खजुरावासी आशावादी छन् ।

गाउँपालिका अध्यक्ष कक्षपति ‘हरित कृषि र हरित शहरीकरण’ परियोजना कार्यान्वयन भएपछि कृषि क्षेत्रको कायापलट हुने बताउँछन् । सम्झौता मातहत सिँचाइको पूर्ण व्यवस्था हुनेछ भने खेतीमा अत्याधुनिक प्रविधिको मात्र प्रयोग हुनेछ ।

“पाइलट प्रोजेक्टले दक्ष कृषि प्रविधिज्ञको उत्पादन गर्ने छ, यहाँका कृषकहरुलाई प्रशिक्षणका लागि चीन पठाउने अवसर प्राप्त हुनेछ,” उनले भने ।

अध्यक्ष कक्षपतिका अनुसार परियोजनाअन्तर्गत कृषि उत्पादन वृद्धिसँगसँगै बजारीकरणको व्यवस्था पनि मिलाइने छ । त्यसका लागि सडक, विद्यत् लगायतका पूर्वाधार निर्माणका काम हुनेछन् ।

खजुरा गाउँपालिकाका विज्ञ पूर्णचन्द्र उपाध्यायले प्रस्तावना तयार गर्दा रु २ अर्बसम्मको अनुमान गरे पनि यसको विस्तृत खाका तयार भइनसकेको बताए । परियोजनाअन्तर्गत गाउँपालिकाले कृषि सहकारीमार्फत कार्यक्रम सञ्चालन गर्नेछ ।

चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरसँग केही दिन अघि उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि अध्यक्ष कक्षपतिले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सन् २०२० देखि पूर्ण रुपमा परियोजना अगाडि बढ्ने छ ।

गत वर्ष दुबईमा आयोजित एक कार्यक्रममा सहभागी हुनुभएका गाउँपालिका अध्यक्ष कक्षपतिले खजुरालाई ग्रीन सिटीका रुपमा विकास गर्न प्रस्ताव गरेपछि यो कार्यक्रम अगाडि बढेको हो ।