कृषि

एक घर बराबर दुई फलफूल बिरुवा वितरण

धनगढी। एक घर दुई फलफूलका बिरुवा’ रोप्ने नीति अनुरुप धनगढी उपमहानगरपालिकाले झण्डै २८ हजार फलफूलका बिरुवा अनुदानमा वितरण गरेको छ ।

नगर क्षेत्रका बासिन्दालाई आँप, लिची, मेवा, कागती र अनारका बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरिएको उपमहानगरपालिका कार्यालय, कृषि शाखाका अधिकृत लोकराज उपाध्यायले बताए ।

एक घर दुई फलफूलका बिरुवा रोप्नुपर्ने नीति कार्यक्रम भए पनि कार्यालयले फलफूलका बिरुवा लिन आउनेलाई दुईभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको छ । उपाध्यायले पाँच हजार बोट आँप, पाँच हजार ६०० कागती, दुई हजार ५०० लिची, दुई हजार अनार र १३ हजार मेवाका बोट वितरण गरिएको बताए । अठ्तीस हजार घरधुरी रहेको धनगढी उपमहानगरपालिकाको जनसङ्ख्या झण्डै एक लाख ४७ हजार रहेको छ । अनुदानमा फलफूलका बिरुवा वितरण गर्न करीब रु आठ लाख २६ हजार खर्च भएको जनाइएको छ ।

यसैगरी नगर क्षेत्रका १० वटा कृषि समूह, सहकारी संस्था र व्यक्तिगत कृषि फर्मसमेतलाई ५० प्रतिशत अनुदानमा कृषि कार्यमा प्रयोग हुने पावर टिलर वितरण गरिएको छ । सात थान पम्पिङ सेटसहितको बोरिङ, सात वटा बोरिङ र पानी तान्ने मोटर वितरण गरिएको छ ।

कार्यालयले केराखेती गर्न चाहनेलाई शतप्रतिशत अनुदानमा केराको बोट र सिँचाइमा ५० प्रतिशत अनुदान दिएको छ । तरकारीको खेती गर्न चाहने कृषक समूहलाई तरकारीको बीउ र बगरमा खेती गर्न चाहने चार वटा कृषक समूहलाई पाँच वटा पम्पिङ सेट र ७०० वटा क्रड, बालीलाई रोग किराको सङ्क्रमणबाट जोगाउन १६ क्वीन्टल जिङ्क पनि वितरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै जाने नीति लिएको छ । यसका लागि जैविकखेती र बगरखेतीलाई प्रोत्साहन, एक वडा एक कृषि उत्पादन कार्यक्रम, माटो परीक्षणको व्यवस्था, फलफूलका बिरुवा वितरण, अस्वस्थ तरकारी र खाद्यान्नको आयातमा नियन्त्रण, युवालक्षित कृषि कार्यक्रम सञ्चालन, करेसाबारीमा तरकारी उत्पादन कार्यक्रम, व्यावसायिक तरकारी फलफूलखेती लगायतका कृषि कार्यक्रम सञ्चालन गर्नका लागि कृषक, कृषक समूह र सहकारी संस्थालाई कृषि यन्त्र, मल, बीउबिजन, तालीममा सहयोग गर्न लागेको छ ।

नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको नामबाट वडा नं १२ मा ‘द्वारिकदेवी ठकुरानी कृषि अनुशन्धान केन्द्र’ स्थापना गर्ने नीति पनि उपमहानगरपालिकाको छ ।