गण्डकी प्रदेश

अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा

पोखरा । अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनालाई पूर्ववत् अवस्थामा ल्याइएको छ ।

हिमआँधीसहितको प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचना स्थानीय पर्यटन व्यवसायीले झण्डै पाँच महीनाको प्रयासपछि पूर्ववत् अवस्थामा ल्याएको हो ।

गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको पर्यटन व्यवसायी एवं अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए ।

आधार शिविर क्षेत्रमा अकल्पनीय रूपमा आएको हिमआँधीका कारण यहाँका होटेलका छाना उडाउनाका साथै ठूलो मात्रामा भौतिक क्षति भएको थियो ।

“हिमआँधीले यहाँका चारवटै होटेलमा ठूलो क्षति पु¥याएको थियो”, उनले भने, “अन्नपूर्ण आधार शिविर भनेर आउने पर्यटकको सुविधालाई लक्षित गरी यथासक्य चाँडो पुनः निर्माणलाई बढाउँदा पनि यो समय लागेको हो ।”

हिमआँधीको समयमा उक्त स्थानमा कुनै मानिस नरहेका कारण मानवीय क्षति भने हुन सकेको थिएन । उनका अनुसार यहाँका चारवटै होटेलको बिग्रे भत्केका पूर्वाधार निर्माणमा झण्डै साढे दुई करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।

क्षति लगत्तै पुनर्निर्माण गर्न खोजिए पनि चैतको अन्तिमसम्म नै पटकपटक हिमपात भएपछि अपेक्षित पुनर्निर्माणले गति लिन सकेको थिएन । पुनर्निर्माण भएसंगै अन्नपूर्ण आधार शिविर जाने पर्यटकले अब भने सहजरुपमा सोही स्थानमा नै बस्न पाउने भएका छन् । अघिल्लो वर्षको पदयात्रा पर्यटनको दोस्रो मुख्य याम मध्य फागुनदेखि वैशाखसम्मको समयमा आधार शिविरमा भएको क्षतिले पर्यटक समस्यामा परेका थिए ।

उक्त याममा अन्नपूर्ण आधार शिविरमा पर्यटकले रात बिताउन नपाए पनि स्थानीय पर्यटन व्यवसायीले त्यहाँसम्म दिउँसो करीब डेढ घण्टाको हाइकिङ गराई पर्यटकलाई पु¥याइ पुनः माछापुच्छ्रे आधार शिविरमा ल्याएर बस्ने व्यवस्था मिलाएका थिए ।

पदयात्राको नजिकिँदो याम आगामी असोज, कात्तिक र मङ्सिरमा भने पदयात्रामा जाने पर्यटकलाई अन्नपूर्ण आधार शिविरमा नै बस्ने गरी व्यवस्था मिलाइसकिएको गुरुङले जानकारी दिए ।

क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा आउनुले विभिन्न विदेशी राष्ट्रबाट अन्नपूर्ण आधार शिविर नै पुग्ने लक्ष्यका साथ आउने पर्यटक विशेषरुपमा लाभान्वित हुने समाजसेवी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव २०७६ का संयोजक ललित गुरुङले बताए ।

हिमआँधीले यहाँका होटेलका छाना उडाउनाका साथै ठूलो मात्रामा भौतिक क्षति पुर्‍याएको थियो । क्षति लगत्तै पुनःनिर्माण गर्न खोजिए पनि चैतको अन्तिमसम्म नै पटकपटक हिमपात भएपछि अपेक्षित पुनर्निर्माणले गति लिन नसकेको हो ।

क्षतिसँगै अन्नपूर्ण गाउँपालिका कास्कीले स्थलगत अध्ययन गरी रु तीन करोड ५६ लाख नोक्सान भएको यकिन गरी क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । उक्त कुराको सुनुवाइ हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।

गाउँपालिकाले उक्त समयमा हिमपातका कारण बिग्रे भत्केका पदमार्गको पुनःनिर्माणका लागि रु ६० हजार सहयोग उपलब्ध गराएको पौडेलले जानकारी दिए । गाउँपालिकाले त्यहाँ चार वटा होटेलको पुनःनिर्माणका लागि रु एक।एक लाख उपलब्ध गराएको थियो ।

अन्नपूर्ण क्षेत्रमा बढ्दो पदयात्री पर्यटकको सुविधालाई दृष्टिगत गरी अघिल्लो आर्थिक वर्षमा पदमार्ग क्षेत्रका दुई ठाउँमा फलामे पुल राखिएको गाउँपालिकाले जनाएको छ । करीब चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविरमा पदयात्रा गरी जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्ने गर्दथे ।

विसं २०३८ देखि यस ठाउँमा सुविधा सम्पन्न होटल सञ्चालन शुरु गरिएको स्थानीयवासी बताउँछन् । यहाँस्थित होटललाई क्रमशः सुविधा सम्पन्न बनाउने लक्ष्यअनुरूप बर्सेनी पूर्वाधार थप हुँदै गएसँगै करीब १०० जनाभन्दा बढी बस्नसक्ने व्यवस्था मिलाइएको थियो ।

अन्नपूर्ण आधार शिविरसम्म पुग्ने बाटोका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविरमा अन्नपूर्ण आधार शिविरका चार वटा होटेलसहित कूल २६ वटा सञ्चालनमा छन् ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए । सिप्टनले गरेको पदयात्रा पछि मात्रै यो क्षेत्रको चासो र चर्चा बढ्नुका साथै आकर्षक गन्तव्य बन्दै गएको हो ।