राजनीति

बेरोजगारी समस्या अन्त्यका गाँउमा रोजगारको अवशर खोज्न जरुरीः वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेरोजगारी अन्त्यका लागि स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्ने बताए ।

गाउँमै रोजगारीको अवसर सिर्जना गर्न सकिए आम्दानी हुने र युवाहरु विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो । उनले भने, “युवाहरुलाई गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्न सकिए काम खोज्दै विदेश जानुपर्दैन, त्यसका लागि उत्पादन वृद्धिमा जोड दिनु अहिलेको प्रमुख आवश्यकता हो ।”

वरिष्ठ नेता पौडेलले कृषि, जलस्रोत र पर्यटनमार्फत् देशलाई समृद्ध बनाउन सकिने भएकाले तीन तहका सरकारले नै यो क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले कृषि क्रान्तिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।

फरक प्रसङ्गमा बोल्दै उनले पार्टीहरुलाई सुधार्ने जिम्मेवारी जनताको पनि रहेको उल्लेख गरे । पार्टी सुधार गर्न नेतृत्व सुध्रनुपर्ने भन्दै उनले लोकतन्त्रमा व्यक्ति नभई जनता बलियो हुनुपर्ने धारणा व्यक्त गरे । दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले सरकारको कार्यशैली सच्चिनुपर्ने बताए ।

कार्यक्रममासांसद केदार सिग्देल, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले समृद्ध गाउँपालिका बनाउन सबै राजनीतिक पार्टीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष माया रानाले आर्थिक वर्ष ०७६÷७७ का लागि पारित बजेट सार्वजनिक गरेका थिए । गाउँपालिकाले चालु आवका लागि रु ४८ करोड १३ लाख ७७ हजारको बजेट पारित गरेको छ । कूल बजेटमध्ये चालूतर्फ रु २५ करोड ९४ लाख ३४ हजार र पूँजीगततर्फ रु २२ करोड १९ लाख ४३ हजार विनियोजन गरिएको अध्यक्ष रानाले जानकारी दिए ।

गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत सातवटै महत्वपूर्ण सडकको सञ्जाल बनाई कालोपत्रे शुरुवात गर्ने, कृषिमा आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्ने, एकीकृत पर्यटन विकास कार्यक्रम तय गरी पर्यटनका पूर्वाधारहरु निर्माण गर्ने, स्वच्छ खानेपानीको अभावलाई न्यूनीकरण गर्नेलगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।