अन्तर्राष्ट्रिय

धारा ३७० को खारेजी ऐतिहासिक भएकाले राजनीतिकरण गरिनु नहुनेः अदिती सिंह

राइबरेली । भारतीय राज्य उत्तर प्रदेशको राइबरेलीबाट लोकसभामा निर्वाचित भारतीय कङ्ग्रेसकी युवा नेता अदिती सिंहले केन्द्र सरकारद्वारा सोमबार लिएको कदम ‘ऐतिहासिक निर्णय’ भएको र यसलाई राजनीतिकरण गरिनु नहुने बताएका छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० सोमबार खारेज गरिएको हो ।

मङ्गलबार एएनआइसँग कुराकानी गर्दै उनले भने, “मैले एक लोक सभा सदस्यका हैसियतमा उक्त निर्णयको स्वागत गर्दछु ।”

उनले भने, “म भारतीय संविधानको धारा ३७० को खारेज गर्ने सरकारको निर्णयको विल्कुल पक्षमा छु । यसले जम्मु र काश्मिरलाई भारतको मुख्यभूमिसँग जोड्न सहयोग गरेको छ । यो ऐतिहासिक निर्णय हो ।”

तर राइबरेलीकी लोकप्रिय कङ्ग्रेस नेता सिंहले धाराको खारेजीसँगै जम्मु–काश्मिरमा देखिएको भय, त्रास र अन्योलबारे चिन्ता व्यक्त गरे ।

उनले थपे, “मेरो धारणा मेरो दल कङ्ग्रेसको विचारभन्दा माथि रहेको छ । यद्यपि संविधानको धारा ३७० को खारेजीसँगै काश्मिरमा सरकार गराएकोे सञ्चार विच्छेदका साथै सामुहिक रूपमा हिडडुलमा लगाइएको प्रतिबन्धले त्यहाँको जनजीवनलाई प्रभावित पारेको छ । यो बिषय राष्ट्रिय चासोको बिषय हुनुपर्छ ।”

कङ्ग्रेसको आधिकारिक निर्णयभन्दा विल्कुल फरक धारणा राख्दै सिंहले सोमबार ट्वीट गरेका थिए, “एकताले नै हामीलाई बलियो बनाउनेछ । जय भारत ।”

उनले थपे, “म एक कङ्ग्रेसीका साथसाथ एक हिन्दुस्थानी हुँ (म भारतीय हुँ)।” सरकारको उक्त कदमको कङ्ग्रेसका विरिष्ठ नेता जनार्दन द्विवेदीले पनि स्वागत गरेका छन् ।

द्विवेदीले भने, “मैले राम मनोहर लोहियाको प्रशिक्षणबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेको हुँ र उनी सधैँ उक्त धाराको सधैँ विरोधी थिए । ढिलो भएपनि इतिहासको गल्तीलाई आज सच्चाइएको छ ।” द्विवेदीलाई कङ्ग्रेस नेता सोनिया गान्धीका निकटस्थका रूपमा लिने गरिन्छ।