लुम्बिनी

सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै

नेपालगञ्ज । भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन् । जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो ।

झण्डै डेढ वर्षदेखि रोकिएको सडक निर्माणको कामलाई भारतले पुनः शुरु गरेको छ । सडकजस्तो बाँधलाई हिरमिनिया पश्चिममा समेत विस्तार गर्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिका समेत डुबानमा पर्ने सम्भावना बढेको छ ।

सडकजस्तो बाँधको निर्माण रोक्न स्थानीय प्रशासनदेखि मुख्यमन्त्री हुँदै केन्द्रसम्म पहल गरिएको लक्ष्मणपुर बाँध सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए ।

यसअघि भारतले सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेपछि तटीय क्षेत्रका बासिन्दा कटान र डुबानमा पर्दै आएका छन् ।