खेलकुद

१३ वर्षीय श्रेष्ठको कुशल एवम् व्यावसायिक फूटबल खेलाडी बन्ने लक्ष्य

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय सुमन श्रेष्ठ बिहान ५ बजे माटिकोरे खेलमैदान पुग्छन् । दुई घण्टा फूटबल खेलसम्बन्धी अभ्यास गर्छन् । उनी ७ बजेसम्म खेल अभ्यास गरेर कोठा फर्कन्छन् र गृहकार्य सकेर १० बजे विद्यालय जान्छन् ।

अङ्ग्रेजी माध्यमको शिक्षा अध्ययन गर्न गाउँबाट दिक्तेलबजारमा आएका श्रेष्ठको लक्ष्य छ कुशल एवम् व्यावसायिक फूटबल खेलाडी बन्ने । श्रेष्ठ दिक्तेल बोर्डिङ स्कूलको कक्षा ८ का विद्यार्थी हुन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १२ वर्षीय सिजन बस्नेतले पनि भविष्यमा आफू फूटबल खेलाडी बन्ने बताए । आफन्तको साथमा दिक्तेलबजारमा बस्दै आएका योगेश बिहानै उक्त खेलमैदान पुग्छन् र सार्थीहरुसँगै फूटबल खेलसम्बन्धी अभ्यास गरेर कोठा फर्कन्छन् । बस्नेत माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलको कक्षा–५ का विद्यार्थी हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटिकोरे खेलमैदानमा पाथेकाका १२ वर्षीय ढाकशेर राई, नेर्पाका १३ वर्षीय वुद्ध खत्री, दिक्तेलका १३ वर्षीय अभिषेक मगरलगायत ४१ जना बालक बिहान ५ बजे नै उक्त खेलमैदान पुगेका हुन्छन् । फूटबल खेल अभ्यासमा सहभागी उनीहरु सबैको उमेर १४ वर्ष नाघेको छैन ।

वर्षदिनदेखि निरन्तर अभ्यास गरिरहेका उनीहरु सबैको लक्ष्य छ भविष्यमा कुशल र व्यावसायिक फूटबल खेलाडी बन्ने । उनीहरुलाई खोटाङ फूटबल एकेडेमीका स्वयम्सेवक प्रशिक्षक तथा खेलाडीले निःशुल्क अभ्यास गराइरहेका छन् ।

जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फूटबल खेललाई व्यावसायिक बनाउने उद्देश्यले ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई तालीम दिने व्यवस्था मिलाइएको एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले बताए । “बिना तालीम फूटबल खेलाडी उत्पादन हुँदैन”, उनले भने, “आगामी दश वर्षभित्र जिल्लामा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यसाथ निःशुल्क तालीमको व्यवस्था गरिएको हो ।”

एकेडेमीले तयार गरेका खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालीमका लागि राजधानी काठमाडौँ पठाउने गरिएको छ । गत वर्ष सात जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययन तथा तालीमको सम्पूर्ण खर्च सम्बन्धित क्याम्पसले बेहोर्ने गरी काठमाडौँको नयाँ बानेश्वरस्थि प्रिमियर कलेजले लगेको थियो ।

विगत तीन वर्षदेखि निरन्तर तालीम गराउँदै आएको एकेडेमीले गत वर्षनै एन्फामा सात खेलाडी पठाएको प्रशिक्षक रोशेष श्रेष्ठले बताए । “एकेडेमीमा बिना शुल्क तालीम दिने गरिएको छ”, उनले भने, “हामीले तालीम दिएको खेलाडीहरु अहिले विभिन्न क्लब तथा ठाउँमा गएर स्थापित भएका छन् ।”

यसअघि एकेडेमीमा तालीम लिएका याम्खाका एवन बस्नेत हाल नेपाल पुलिस क्लबबाट १८ वर्षमुनिका खेलाडी समूहमा आबद्ध छन् । जिल्लामा फूटबल खेलको व्यावसायिक विकासमा लागेको एकेडेमी जिल्ला लिगमा दोस्रो भएको थियो ।

एकेडेमीलाई गोल नेपाल र लिभरपुल फ्यान्स नेपालले खेल सामग्री उपलब्ध गराउँदै आएको छ । लिभरपुल फ्यान्स नेपालले गत वर्ष ३० जोर जर्सी, ३० वटा फूटबल, ट्रेनिङकोण, दुई थान नेटजाली र गोल नेपाल काठमाडौँले २० जोर जर्सी र दश वटा फूटबल उपलब्ध गराएको अध्यक्ष सैँजूले बताए ।

जिल्लामा फूटबल खेलप्रति बालबालिका आकर्षित भए पनि सम्बन्धित निकायले चासो नदिएको सरोकारवाला पक्षले आरोप लगाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा जिल्ला खेलकूद विकास समिति क्रियाशील रहे पनि फूटबल खेललाई चासो नदिएको खेलाडीहरुको गुनासो छ ।

एकेडेमीले विद्यालयस्तरका बालबालिकाकालाई लक्षित गरेर तालीम सञ्चालन गर्दै आएको माटिकोरे खेलमैदान स्तरोन्नति गर्नुपर्ने अवस्थामा पुगेको छ । हाल सरस्वती मावि दिक्तेलको मातहतमा रहेको उक्त खेलमैदानको समग्र विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम शुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।

जिल्लामा लामो समयदेखि फूटबल खेल सञ्चालन हुँदै आए पनि यस वर्षदेखि मात्रै अखिल नेपाल फूटबल सङ्घ (एन्फा)को सदस्यता प्राप्त भएको छ । एन्फाको अस्थायी सदस्यता प्राप्त गरेसँगै जिल्ला फूटबल सङ्घ खोटाङले जिल्लाकै इतिहासमा पहिलो पटक गत असार–३ गतेदेखि जिल्ला लिग फूटबल प्रतियोगिता गरेको थियो ।

पहिलो पटक आयोजित जिल्ला लिग फूटबल प्रतियोगिताको उपाधि बाक्सिला फूटबल क्लबले उचालेको थियो । फूटबल सङ्घमा आबद्ध दश टोली सहभागी प्रतियोगितामा खोटाङ फूटबल एकेडेमीलाई शून्यका विरुद्ध दुई गोल गर्दै बाक्सिलाले उपाधि चुमेको हो ।