गण्डकी प्रदेश

चितुवाको आक्रमणबाट बचाउन गौ संरक्षण केन्द्रमा सोलार जडान

दमौली । चितुवाको आक्रमणबाट जोगाउन तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा सोलार जडान गरिएको छ ।

गौ संरक्षण केन्द्रमा रातिको समयमा अन्धकार हुँदा गाईलाई चितुवाले आक्रमण गर्न थालेपछि शुक्लागण्डकी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा सोलार जडान गरिएको हो ।

शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार केन्द्रमा करीब रु चार लाख मूल्य बराबरको चार वटा सोलार जडान गरिएको छ । “केन्द्रमा बत्तीको व्यवस्था नहुँदा चितुवा आएर गाईलाई आक्रमण गर्ने क्रम बढेपछि सोलार जडान गरेका हौँ”, श्रेष्ठले भने, “अब चितुवाको आक्रमण घट्ने अपेक्षा गरेका छौँ ।”

चितुवाको आक्रमणबाट केन्द्रको २२ वटा गाई मरिसकेको छ । चितुवाको आक्रमणबाट गाईलाई बचाउन केन्द्र वरपरको झाडी सरसफाइ गरिएको छ । “झाडी सरसफाइ गरेको बेला चितुवा आएन तर फेरि झाडी बिस्तारै बाक्लिँदै जान थालेपछि चितुवा आउन शुरु गरेको रहेछ, बाक्लिएको झाडीलाई फेरि सरसफाइ गर्छौं ।”

केन्द्रमा दैनिकजसो गाईहरु थपिने क्रम बढेको छ । सडक छेउछाउ छाडा रुपमा छाडिएका गाई संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको केन्द्रमा हाल २७५ भन्दा बढी गाई छन् । त्यसमध्ये २० वटा गाई ब्याउने अवस्थामा रहेको छ । “केन्द्रमा दिनदिनै गाईको सङ्ख्या बढेको छ”, उनले भने, “यसले गर्दा व्यवस्थापनमा केही असहज भएको छ ।” श्रेष्ठका अनुसार केन्द्र स्थापना भएपछि आहारा अभाव र चितुवाको आक्रमणबाट ४६ गाई मरिसकेको छ ।

नगरपालिकाको रु १७ लाख र स्थानीयवासीको रु तीन लाख गरी रु २० लाखको लागतमा संरक्षण केन्द्र निर्माण गरिएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार गाई संरक्षण केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आउने गरेका छन् । गाई खरीदका लागि मानिस आउने गरे पनि कार्यविधि नबनेका कारण बिक्री गर्न रोक लगाइएको छ । “गाई किन्न मान्छेहरु आइरहेका छन्, नगरपालिकाले यसका लागि कार्यविधि बनाउँदैछ । कार्यविधि बनेपछि बिक्रीको व्यवस्था गर्ने सोचेका छौँ”, उनले भने ।

छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । दूध दिन छाडेपछि कृषकले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट समेत गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो ।

यसैगरी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा नगरपालिकाको १२ वटै वडा कार्यालयमा सोलार जडानको तयारी थालिएको छ । प्रत्येक वडा कार्यालयमा एक।एक वटा सोलार जडान गर्ने तयारी भएको नगरपालिकाले जनाएको छ ।