लुम्बिनी

पहिरोले विद्यालय भवन जोखिममा

बेझाड। वर्षाले पहिरो खसेपछि रिब्दिकोट गाउँपालिका–७ पालुङ्ग मैनादीमा रहेको चण्डीका भवानी आधारभूत विद्यालयको भवन जोखिममा परेको छ । माथिबाट खसेको पहिरोले विद्यालयको प्रवेशद्धार, प्राङ्गणमा क्षति पुगेको छ । प्रवेशद्वार पहिरोले पूरै पुरेपछि विद्यालयमा जोखिम बढेको प्रधानाध्यापक मुनानसिं गाहाले बताए ।

“प्रवेशद्वार पहिरोले पुरेपछि आकाशबाट परेको पानी विद्यालय प्राङ्गणमा नै थुनिएर ताल बनेर बस्ने र हिलाम्य हुँदा पठनपाठनमा समस्या परेको छ” उनले भने । पर्खाल उठाएर पहिरो रोक्नका लागि करीब पाँच लाख रुपैयाँ लाग्ने भए पनि विद्यालयको आर्थिक स्रोत नहुँदा समस्या परेको उनको भनाइ छ ।

विद्यालयमा पहिरो खसेपछि शिक्षक कर्मचारी, विद्यार्थीले जोखिम मोलेरै शिक्षण कार्य गर्न बाध्य छन् । पहिरोको डरले पानी परेका बेला विद्यार्थी पनि कम उपस्थिति हुने गरेका छन् ।

पहिरोको जोखिम रोकथाम गर्न क्षतिपूर्तिका लागि निवेदन आएको र सो निवेदनलाई शिक्षा विभागमा पठाउने प्रक्रिया भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताए । आधारभूत तहसम्म पठनपाठन भइरहेको यस विद्यालयमा १२९ जना विद्यार्थी अध्ययनरत् छन् ।