खेलकुद

एसेज सिरिज अन्तर्गत पहिलो टेष्टमा अष्ट्रेलियालाई सफलता

एजेन्सी । एसेज सिरिज अन्तर्गत पहिलो टेष्ट अष्ट्रेलियाले २ सय ५१ रनको प्रभावशाली जित निकालेको छ । जितसंगै अष्ट्रेलियाले ५ म्याचको सिरिजमा १–० को अग्रता लिएको छ ।

३ सय ९८ रनको लक्ष्य पछ्याएको ईङ्ल्याण्ड ५२ दशमलव ३ ओभरमा १ सय ४६ रनमा समेटिएको थियो । विशाल लक्ष्य पछ्याउने क्रममा क्रिस वक्सले पाँचौ तथा अन्तिम दिन बनाएको ३७ रन ईङ्ल्याण्डको सर्वाधिक ठुलो स्कोर रह्यो । जासन रोय र जोए रुटले समान २८ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहरो अंकको स्कोर छुन सकेनन् ।

अष्ट्रेलियाका नाथल लियोनले ६ विकेट लिदै ईङ्ल्याण्डको ईनिङ्स ध्वस्त बनाउने काम गरे । उनले २० ओभरमा ४९ रन खर्चिएर ६ विकेट लिएका थिए । यस्तै अष्ट्रेलियाका पट कमिन्सले ४ विकेट लिए । पहिलो ईनिङ्समा अष्ट्रेलिया २ सय ८४ मा अलआउट भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ईङ्ल्याण्डले ३ सय ७४ रन बनाउन सबै विकेट गुमाएको थियो ।

दोस्रो ईनिङ्समा अष्ट्रेलियाका लागि स्टेभन स्मिथ र म्याथ्यु वेडले शतकिय ईनिङ्स खेल्दै विशाल लक्ष्य खडा गरेका थिए । एउटै टेष्टमा दोस्रो सतक प्रहार गर्ने क्रममा स्मिथले १ सय ४२ रन बनाएका थिए । वेडले समेत सतकिय ईनिङ्स खेलेपछि अष्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ८७ रन बनाएको अवस्थामा ईनिङ्स डिक्लियरको घोषणा गरेको थियो ।