राजनीति

मिडिया देश, समाज, लोकतन्त्र र निमुखा जनताका हितका पक्षमा उभिनु जरुरीः मन्त्री बाँस्कोटा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडियाले अग्रगमन, सुशासन र विकासलाई साथ दिनुपर्ने बताएका छन् ।

आर के मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित कलर्स एफएम १०२.४ मेगाहर्जको आज उद्घाटन गर्दै उनले मिडियाले सामाजिक उत्थान र परिवर्तनको अभियन्ताको दायित्व निर्वाह गर्नुपर्ने बताए । गणतन्त्र आए पनि विभेदका कारण आम जनताले गणतन्त्रको अनुभूति गर्न नपाएका कारक विरुद्धको मोर्चाको नेतृत्व गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले पत्रकारितालाई शुद्धीकरण गर्दै देश, समाज, लोकतन्त्र र निमुखा जनताका हितका पक्षमा उभिनु जरुरी भएको धारणा राखे ।

मन्त्री बाँस्कोटाले भने, “पत्रकारिता हुनेखानेका लागि र व्यापारका लागि गर्ने मनोविज्ञानको अन्त्य गर्नुपर्दछ ।” उनले एफएमबाट प्रसारण हुने सामग्री कानमा गुञ्जिने र मनमा छाप पार्ने हुनुपर्नेमा जोड दिँदै मनको ढुकढुकी बन्न जनताको चेतना स्तर वृद्धि, आवश्यकता र जीवनोपयोगी सामग्री उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

सरकारले पत्रपत्रिकाको विकासका लागि लोककल्याणकारी विज्ञापनको प्रतिशतमा वृद्धि र श्रमजीवीका लागि पारिश्रमिकमा वृद्धि गरेको उल्लेख गर्दै उनले यसबाट आगामी दिनमा सकारात्मक परिवर्तनका परिणाम देखिने विश्वास व्यक्त गरे । उनले सरकारले राष्ट्र र जनताका पक्षमा दिनदिनै नयाँ नयाँ काम गरिरहेकाले आउने दिनमा समृद्धिको तीव्रताबाट राष्ट्र र जनताको मुहार हँसिलो देख्न पाइने धारणा राखे ।

पूर्वमन्त्री यदुवंश झाले वर्षौंदेखि पत्रकारिता गरिरहेका पत्रकारको जीवन निर्वाहका लागि वृत्तिविकास कोषको व्यवस्था सरकारले गर्नुपर्ने खाँचो औँल्याए । एफएमका प्रबन्ध निर्देशक रूपेशकुमार सिंहले सञ्चार गृहको विकासका लागि सरकारले सोच्नुपर्नेमा जोड दिए । नेकपाका केन्द्रीय सदस्य श्रीप्रसाद साह र योगनारायण यादव, समाजसेवी गङ्गाप्रसाद यादव र साहित्यकार परमेश्वर कापडीले एफएमहरूले ज्ञानवद्र्धक सामग्री प्रसारण गर्नु जरूरी रहेको धारणा व्यक्त गरे ।