पर्यटन/संस्कृति

घरका ढोकामाथि नागको तस्वीर टाँसी पूजाआजा

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे छ ।

आजका दिनमा घरको ढोकामाथि नाग टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रही आएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुराको बराहलगायतका पुराणमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आजका दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआजा गरी मेला लाग्ने गर्दछ । साथै पशुपतिस्थि वासुकी मन्दिरमा समेत आज विशेष पूजाआजा गरिन्छ । आज नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने गर्दछन् । आजका दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वाससमेत छ ।