खेलकुद

ओलम्पिक कमिटीको निर्वाचन भदौमा

काठमाण्डौ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन आगामी भदौ २० गते हुने भएको छ । एनओसीको आज बसेको विशेष साधारणसभाले नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो । आइओसीले प्रस्तावित मितिलाई स्वीकृति प्रदान गरेसँगै एनओसीले नयाँ निर्वाचनको मिति तोकेको हो ।

बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा राधिका खतिवडा र भीम थापा रहेका छन् । त्यसैगरी विशेष साधारणसभाले विधान संशोधन गर्दै एनओसीको कार्यसमिति अब १७ बाट बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको छ । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको विशेष साधारणसभामा सङ्घका प्रतिनिधि १९ र एक पर्यवेक्षकको उपस्थित थियो ।