समाचार

वैदेशिक रोजगारी र अध्ययन गर्न जाने नेपाली बेचबिखनको जोखिममा

काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ले देखाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आज सार्वजनिक गर्नुभएको सो प्रतिवेदनमा वैदेशिक रोजगारी, अध्ययन र मनोरञ्जनजस्ता पेशामा गएका हालसम्म करीब ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ लाख जोखिममा रहेको उल्लेख छ । नेपालबाट तेस्रो मुलुकमा मानव बेचबिखन र ओसारपसार बढी हुने गरेको छ । युरोपका विभिन्न देश तथा अष्ट्रेलियालगायत मुलुकमा पर्यटक, अध्ययनलगायत प्रवेशाज्ञामा लगी बँधुवाका रुपमा काम गर्न बाध्य पार्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

खाडी राष्ट्र तथा मलेसियामा मानव बेचबिखन वैदेशिक रोजगारीका नामबाट सहजै हुने गरेको छ । घरेलु कामदार तथा अन्य पेशाका नाममा नेपाली महिलालाई खाडीका विभिन्न राष्ट्रमा बाध्यकारी श्रम तथा कतिपय अवस्थामा यौनशोषणसमेत गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाली महिलालाई घरेलु कामदारका रुपमा खाडी राष्ट्र जान गरिएको निषेधपछि भारतीय मार्ग हुँदै जाने प्रवृत्ति बढेको छ । अधिकांश महिला बेचबिखन र यौन शोषणको सिकार हुने जखिम छ ।

आयोगका सदस्य मोहना अन्सारीले भने, “वैदेशिक रोजगारी, अध्ययन, मनोरञ्जन र अन्य कामका लागि गएका नेपाली बेचबिखनमा पर्ने गरेको देखिएको छ, यस्तो कार्यले अपराध मात्र नभई मानव अधिकार र मानिसको बाँच्न पाउने अधिकारको गम्भीर उल्लङ्घन भएको छ ।” नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा वार्षिक दुई सयदेखि तीन सयको सङ्ख्यामा उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष २०७४।७५ मा ३०७ उजुरी परेको थियो । आर्थिक वर्ष २०७५।७६ को चैत मसान्तसम्म १७४ मानव बेचबिखनका उजुरी परेका थिए । अघिल्लो आवको तुलनामा मानव बेचबिखनसम्बन्धी उजुरी घटेको देखिन्छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा १३ हजार ६७८ नागरिक हराएका छन् । तीमध्ये केवल ४७ प्रतिशत मात्र फेला परेका छन् । यसरी हराएका र फेला नपरेका व्यक्ति अधिकतम बेचबिखनमा पर्ने गरेको पाइएको छ । प्रतिवेदनका अनुसार १० हजारभन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको छ । आव २०७५।७६ को मसान्तसम्ममा १७४ उजुरी परे पनि बेचबिखनमा परेका ६४० जनाको उद्धार गरिएको छ भने ३७४ स्वदेशभित्र बेचबिखनमा परेका तथा २६६ जनालाई विदेशबाट उद्धार गरिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आव २०७४।७५ मा दुई हजार ३८३ उजुरी परेका छन् । नेपालबाट भारतमा यौन व्यवसायका लागि अझै पनि लैजाने गरेको पाइएको छ । खुला सिमाना, कमजोर र परम्परागत सीमा अनुगमन, नेपाल–भारत सहकार्य र समन्वयको औपचारिक प्रणालीको अभवाले भारतमा करीब एक करोड तीन लाख व्यक्ति बाध्यकारी श्रम तथा आधुनिक दासताको सिकार भएको प्रतिवेदनमा उल्लेख छ ।

भारतमा मात्र होइन चीनमा समेत मानव ओसारपसार र बेचबिखन हुने गरेको पाइएको छ । चीनमा जबर्जस्ती विवाह, यौनशोषण तथा व्यवसायका लागि छिमेकी राष्ट्रहरुबाट महिलालाई लैजाने गरेको प्रतिवेदनमा उल्लेख छ । गत आवमा केरुङ नाकाहुँदै चीनमा बेचबिखनका लागि लैजान लागेका २९ महिलाको उद्धार गरिएको छ । नेपालबाट चीनमा बेचबिखन भएका घटनाको व्यवस्थित अभिलेखीकरण भएको पाइँदैन । यद्यपि अध्ययनका क्रममा पर्यटक प्रवेशाज्ञामा चीन लगिएका नेपाली महिलालाई डान्स रेष्टुरेन्टमा काममा लगाउने गरिएको पाइएको छ ।

आयोगले मानव बेचबिखनको समग्र अवस्थालाई अध्ययन गरेर दश बुँदा सिफारिस गरेको छ । नेपालमा मानव बेचबिखनका क्रममा हराएका व्यक्ति, वैदेशिक रोजगारी, पर्यटन तथा रोजगारी, मनोरञ्जन व्यवसायलगायत नाममा बेचबिखन हुने गरेको पाइएको छ । मानव बेचबिखनमा विशेषगरी महिला र बालबालिका पर्ने गरेका छन् ।