समाचार

चिकित्सा आयोगको उपाध्यक्षमा नौ चिकित्सकको कार्ययोजना

काठमाडौँ । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा आयोगको उपाध्यक्ष पदका प्रत्याशीका बीचमा यही साउन २६ र २७ गते कार्ययोजना प्रस्तुति गरिने भएको छ । उपाध्यक्ष छनोट समिति सचिवालयका अनुसार ११ जना चिकित्सकले सो पदका लागि दरखास्त दिएका थिए । तीमध्ये नौ जना चिकित्सक कार्ययोजना प्रस्तुतिका लागि छनोटमा परेका छन् ।

दुई जना आवेदकको निवेदन छनोट समितिले रद्द गरेको छ । उपाध्यक्ष पदका लागि यही साउन १ देखि १५ गतेसम्म आवेदनको समय निर्धारण गरिएको थियो । यही साउन २६ गते प्रा डा पारस पोखरेल, प्रा डा नीलमणि उपाध्याय, प्रा डा तरुण पौडेल, प्रा डा यहुनचन्द्र शिवाकोटी र प्रा डा रमेशप्रसाद सिंहले आफ्नो कार्ययोजनाका प्रस्तुति गर्नेछन् ।

यसैगरी साउन २७ गते प्रा डा राजेन्द्रप्रसाद साह, प्रा डा सुरेन्द्र शेरचन, प्रा डा शम्भुकुमार पहारी र प्रा डा श्रीकृष्ण गिरीले प्रस्तुति दिनेछन् ।

समितिले आवेदनको सूचना प्रकाशित गर्दा सार्वजनिक लाभ हुने पदमा नभएका, आफ्नो कलेज वा लगानी नभएका, कुनै संस्थाको सञ्चालक नभएका जस्ता विषय खुलाएर लिखित रुपमै खुलाउन माग गरेको थियो । छनोट समितिले नौजना विज्ञ चिकित्सकमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ ।

आयोगको गत चैत ४ गते बसेको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार सिफारिस समितिमा लोकसेवा आयोगका अध्यक्ष संयोजक रहने व्यवस्था छ ।