शिक्षा

विद्यार्थीले गणितमा ३२ र नेपालीमा २० प्रतिशत अझै सिक्न सकेनन्

काठमाडौँ। अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत विद्यार्थीले कक्षामा सिक्न नसकेको अध्ययनले देखाएको बताए ।

केन्द्रले २०७४ सालमा २४ जिल्लाका एक हजार चार सय विद्यालयमा २८ हजार ३८१ विद्यार्थीहरुबीच नेपाली र गणित विषयमा गरेको अध्ययनको अवस्थाका बारेमा अध्ययन गरेको थियो । महानिर्देशक पाण्डेका अनुसार गणितमा प्रदेश नं। २ र नेपालीमा गण्डकी प्रदेशको सिकाइ उपलब्धि राम्रो देखिएको छ ।

यस्तै गणितमा प्रदेश नंं. ५ र नेपालीमा कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ कमजोर देखिएको छ । नेपालीमा कर्णाली, प्रदेश नंं. ३ र सदूरपश्चिम कमजोर तथा गणितमा प्रदेश नं। १, प्रदेश नं. ५ र कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको प्रतिवेदनमा भनिएको छ ।

विद्यार्थीको सिकाइ राष्ट्रिय औषत उपलब्धि पाँच सय मानिएको छ । प्रतिवेदनमा पाँच सय अङ्कभन्दामाथि ल्याउने राम्रो सिकाइ र पाँच सय भन्दामुनि ल्याउने न्यून सिकाइ मानेको छ । गणितमा प्रदेश नंं २ का विद्यार्थीको सिकाइ उपलब्धि सबैभन्दा उच्च (५२१० देखिन्छ भने प्रदेश ५ मा सबैभन्दा न्यून ९४८६० रहेको छ ।

यसैगरी राष्ट्रिय औसतसँग तुलना गर्दा प्रदेश १, ५ र कर्णालीको उपलब्धि क्रमशः ४९४, ४८६ र ४९६ राष्ट्रिय औसत ९५००० भन्दा न्यून रहेको छ । त्यस्तै प्रदेश नं। ३ र गण्डकीको क्रमशः ५०५ र ५०३ राष्ट्रिय औसतभन्दा उच्च रहेको छ भने सुदूरपश्चिम प्रदेशको राष्ट्रिय औसतसँग बराबर पाँच सय रहेको छ ।

यसैगरी नेपालीमा कमजोर सिकाइ कर्णाली प्रदेश र राम्रो सिकाइ गण्डकी प्रदेशको छ । कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ ४८८ र गण्डकी प्रदेशको सिकाइ ५११ रहेको छ । नेपाली विषयको सिकाइ उपलब्धिमा प्रदेश नं– २ को पनि कमजोर ४८९, सुदूरपश्चिम ४९१, प्रदेश नं। ५ को ४९६, प्रदेश नंं १ को पाँच सय, प्रदेश नंं ३ को ५०६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सिराहा उच्च, भोजपुर न्यून

गणित र नेपाली विषयमा भोजपुर जिल्लाको सिकाइ न्यून तथा सिराहा, ललितपुर र चितवन जिल्लाको सिकाइ राम्रो देखिएको प्रतिवेदनमा भनिएको छ । भोजपुरको उपलब्धि सबैभन्दा न्यून (४६८) र सिराहाको उपलब्धि सबैभन्दा उच्च (५२३) देखिएको महानिर्देशक पाण्डेले जानकारी गराए ।

विद्यालयमा शिक्षकले गृहकार्य दिने, गृहकार्य परीक्षणगर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभावपर्ने र गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी विद्यार्थीमा शिक्षक र विद्यालयप्रति भएको सकारात्मक धारणाले उनीहरुको सिकाइ उपलब्धिसँग सकारात्मक सहसम्बन्ध राखेको पाइएको छ । यसैगरी विद्यार्थीको सिकाइ उपलब्धिमा विद्यालयमा सहपाठीबाट हुने विभिन्न प्रकारका दुरव्यवहारका कारणलेसमेत नराकात्मक असर पार्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यालयमा कुनै न कुनै प्रकारको दुरव्यवहार महसुस गर्ने विद्यार्थी ४७ प्रतिशत रहेका छन् । जतिधेरै दुरव्यवहारको सामना गर्नुपर्ने हुन्छ, विद्यार्थीमा त्यति नै सिकाइ कमजोर हुने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ठीक उमेरमा ठीक कक्षामा भर्ना

ठीक उमेरमा ठीक कक्षामा अध्ययन गर्ने विद्यार्थीको सिकाई उपलब्धि राम्रो देखिएको अध्ययनले देखाएको केन्द्रका शाखा अधिकृत श्यामप्रसाद आचार्यले जानकारी दिए ।

अध्ययनले कक्षा ५ का विद्यार्थीका लागि सिकाइको लागि सबैभन्दा उपयुक्त उमेर ११ वर्षमा हुने गरेको छ । ११ वर्षका उमेरको सिकाइ उपलब्धि सबैभन्दा उच्च ५०१ देखिएको शाखा अधिकृत आचार्यले बताए ।

त्यस्तै १० वर्ष उमेर भएका विद्यार्थीको उपलब्धि पनि उच्च (५०१) नै देखिन्छ । उमेर ९ वर्ष वा सोभन्दा कम भएका विद्यार्थीको औसत सिकाइ उपलब्धि ४९८ अङ्क रहेको अध्ययनमा देखिएको छ ।

त्यस्तै १२ वर्ष, १३ वर्ष र १४ वर्ष वा सोभन्दा बढी उमेर भएका विद्यार्थीको सिकाइ उपलब्धि क्रमशः ५००, ४९४ र ४९२ अङ्क रहेको छ । कुनै खास कक्षाका लागि तोकिएको उपयुक्त उमेरभन्दा बढी र कम उमेर हुँदा सिकाइ उपलब्धिमा समेत असर पर्ने केन्द्रका शाखा अधिकृत आचार्यले बताए ।

केन्द्रका महानिर्देशक पाण्डेले विद्यार्थीको सिकाइमा परिवर्तन भइरहेको बताए । ‘‘पढाइमा आएको परिवर्तनले सिकाइ उपलब्धि बढाइरहेको छ’’ उनले भने, ‘‘तर पनि अहिलेको अवस्थालाई सन्तोष मान्न सकिन्न ।’’

प्रतिवेदनमा विद्यार्थीको सिकाइमा गृहकार्य, अतिरिक्त कक्षाको व्यवस्था, आमाको शिक्षाको प्रत्यक्ष र सकारात्मक प्रभाव समेत पर्ने गरेको उल्लेख गरिएको छ । कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइराला र डा मनप्रसाद वाग्ले सिकाइ उपलब्धि अझै सोचे अनुसार नभएकाले सिकाइ उपलब्धि बढाउनुपर्ने धारणा राखे ।

काठमाडौँराष्ट्रिय अभिभावक महासङ्घ नेपालकाका संयोजक सुप्रभात भण्डारी, शिक्षक महासङ्घका तिलक कुँवर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)का सहअध्यक्ष डिके ढुङ्गाना, र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याव्सन) का महासचिव सुभाष न्यौपाने लगायतले सिकाइ उपलब्धिमा सुधार गर्नुपर्ने बताए ।