बाग्मती

तीनकुने–शान्तिनगर जोड्ने वाग्मती पुल निर्माण अलपत्र

काठमाडौँ । ठेकेदारको लापरवाहीले साढे चार वर्ष पहिले विस्तारको काम शुरु भए पनि तीनकुने–शान्तिनगर जोड्ने वाग्मती पुल निर्माण अलपत्र परेको छ । निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्सनको अवधि सकिएको एक वर्ष भइसकेको छ भने सरकारले अहिलेसम्म अवधि थप्ने वा नथप्ने भनि निर्णय नगरेकाले निर्माण अन्योलमा परेको हो ।

उक्त निर्माण कम्पनीले नै निर्माण गरेको टेकु पुल भत्काएर कम्पनीलाई पुनःबनाउन दिने निर्णय भए पनि अहिलेसम्म वाग्मती पुलसम्बन्धी निर्णय भइनसकेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए । उनका अनुसार सम्झौता अवधि सकिएपछि अहिले उक्त कम्पनीले अवधि थपको माग गर्दै कागजात बुझाएको छ । अहिलेसम्म काम सन्तोषजनक नभएकाले सरकारले तत्काल अवधि थप्ने निर्णय गरिनसकेको उनले बताए ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले केही महीना पहिले मात्रै स्थलगत निरीक्षण गरेर पुल निर्माणका क्रममा भएका कमजोरी सच्चाउन निर्देशन गरेको थियो । विभागले चार वर्ष पहिले काठमाडौँ उपत्यकाका १० सडकसँगै वाग्मती पुल र धोबीखोला पुल विस्तारको काम काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामार्फत शुरु गरेको थियो । तीमध्ये मुआब्जा विवादका कारण सडक विस्तार सुस्त भएको र वाग्मती पुल ठेकेदारको ढिलाइका कारण अघि बढ्न नसकेको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

विसं २०७१ पुस ४ मा पुल निर्माणको सम्झौता भएको उनले बताए । ठेक्का सम्झौता अवधि साढे दुई वर्षसम्म पनि काम नसकिएपछि आयोजनाले एक वर्ष अवधि थप गरेको उनले जानकारी दिए । थप भएको अवधिसमेत गत वर्ष असारमा सकिएको छ । उनले भने, “यसअघि भएको काम चित्त बुझ्दो नभएकाले हामीले थप कामका लागि सिफारिश गरेका छैनौँ ।”

ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति २५ प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ । आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण भइरहेको यो पुलको ठेकेदारले नियमितरूपमा काम नगर्दा पुल निर्माणमा ढिलाइ भइरहेको आयोजनाका इञ्जिनीयर श्रेष्ठले बताए । यो पुल निर्माण शुरु हुँदा सम्बन्धित निकायले यहाँका विभिन्न संरचना हटाउन चासो नदिएको उनले बताए ।

उनले भने, “ढल, खानेपानी, विद्युत्लगायतका संरचना हटाउन सम्बन्धित निकायले चासो नदेखाएपछि हामी आफैँले हटाएका थियौँ ।” ठेकेदार आफैँले डिजाइन गरेको यो पुलमा डिजाइनमा लामो समय लागेको श्रेष्ठले जानकारी दिए । सरकारले यसअघि बनाउँदै आएको अरु सामान्य पुलमा पहिले विज्ञलाई डिजाइन गराएर मात्रै ठेक्का आह्वान गर्ने गरेको थियो । यो पुलमा भने ठेकेदार आफैँले डिजाइन गरेको उनले बताए ।

आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त मानिन्छ । अरु सामान्य प्रविधि (आरसिसी) भन्दा पुल देख्दा सुन्दर देखिने र लामो आयु हुने श्रेष्ठले बताए । अरु पुलमा भारवहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ ।

डिजाइन सकिएको एक वर्ष त्यहाँ ‘साइट’ खाली गर्नमा नै लागेको श्रेष्ठले बताए । सो स्थानमा रहेका खानेपानी, ढल र विद्युत्को हाइटेनसन लाइन हटाउन नसक्दा शुरुका दिनमा काममा बाधा पुगेको उहाँले जानकारी दिए । निर्माणाधीन धोबीखोला र वाग्मती पुल सम्पन्न भएपछि माइतीघर–तीनकुने सडक आठ लेनको हुनेछ । पुलको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिने आयोजनाले जनाएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने खालको डिजाइन रहेको छ ।

नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलनमा ल्याउनेछ । यो पुलसँगै बिजुलीबजारस्थित धोवीखोला पुलको पनि एउटै मितिमा ठेक्का सम्झौता भएको थियो । यो पुलको लम्बाइ ८५ मिटर र चौडाइ १२ मिटर रहेको छ । पुल निर्माणमा हालसम्मको खर्च रु छ करोड २२ लाख ८५ हजार छ ।