समाचार

सिमेनको १९औँ स्थापना दिवसको अवसरमा १९ प्रकारका वृक्षरोपण

काठमाडौँ। नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ (सिमेन) को १९औँ स्थापना दिवसको अवसरमा आज टोखा नगरपालिका– ३ भूतखेलस्थित इन्द्रायणी सामुदायिक वनमा विभिन्न १९ प्रकारका फलफूलका बिरुवा रोपिएको छ ।

वृक्षरोपण कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले शहरी वातावरणीय स्वच्छताका लागि रोपिएका बिरुवाको संरक्षण गर्नु आवश्यक भएको बताए । उनले यस प्रकारका कार्यक्रमबाट वातावरण व्यवस्थापनमा सन्देशमूलक भूमिका निर्वाह गर्न निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष किरण गौतमले सङ्घले स्वच्छ ऊर्जाको माध्यमबाट वातावरणको क्षेत्रमा पनि काम गर्दै आएको उल्ल्ेख गर्दै वृक्षरोपण कार्यक्रमबाट शहरी वातावरणलाई स्वच्छ बनाउने अभियान थालनी गरिएको बताए ।

सो अवसरमा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकाल, नवीकरणीय ऊर्जा परीक्षण केन्द्रका कामु महाप्रबन्धक डा रवीन्द्र ढकाल, नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले वृक्षरोपण र नवीकरणीय ऊर्जा प्रविधिको अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गरे ।

नवीकरणीय ऊर्जा प्रविधि महत्व र उपयोगका लागि सक्रिय रहेका विभिन्न निकाय तथा सङ्घ संस्थाको प्रतिनिधिको सहभागितामा भएको सो कार्यक्रममा वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणको लागि स्वच्छ ऊर्जा प्रविधिको रुपमा सौर्य विद्युत् ऊर्जा प्रणालीले पु¥याएको योगदानबारेमा चर्चा गरिएको थियो ।

नेपालको ऊर्जा सङ्कट कम गर्न र ग्रामीण विद्युतीकरण गर्न सदस्य कम्पनीको माध्यमबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको सङ्घ देशभरि क्रियाशील रहेका सौर्य विद्युत् उत्पादन हुने विभिन्न प्रणाली उत्पादन, बिक्री र जडान गर्ने निजी कम्पनीको छाता सङ्गठन हो । हाल यस सङ्घमा ११० कम्पनी सदस्य रहेका छन् ।