शिक्षा

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ,शैक्षिक जग बलियो बनाउने उद्देश्य

नेपालगञ्ज। राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत बर्दियाका २९६ सामुदायिक विद्यालय र मदरसालाई समेटिएको छ ।

कक्षा एकदेखि ३ सम्मका बालबालिकाको पठन सीप क्षमतामा सुधारल्याई उनीहरुको शैक्षिक जग बलियो बनाउने उद्देश्यले सञ्चालित सो कार्यक्रममा ती विद्यालयमा अध्ययनरत १ देखि ३ कक्षासम्मका करीब २३ हजार बालबालबालिका परेका छन् ।

बाँके जिल्लामा कार्यक्रमको प्रभावकारिता राम्रो देखिएपछि सरकारले बाँके युनेस्को क्लबलाई बर्दियामा पनि सो कार्यक्रम सञ्चालनको लागि स्वीकृति दिएको छ । नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत बर्दियामा सामाजिक तथा समुदाय परिचालन गरेर कार्यक्रमलाई सफल बनाउने जिम्मेवारी बाँके युनेस्को क्लबले पाएको शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ ।

यसैगरी कार्यक्रमअन्तर्गत शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र सदस्य तथा अभिभावकलाई पनि समेटिएको क्लबका अध्यक्ष प्रवेजअलि सिद्धिकीले बताए । उनका अनुसार, एकदेखि ३ कक्षासम्मका बालबालिकाको पठन सीपको महत्व बुझाउनुका साथै बालबालिकाको पढाइमा सहयोग गर्न अभिभावकलाई प्रेरित गरिने छ ।

सोही कार्यक्रमअन्तर्गत बर्दियाका ९५ वटा विद्यालय र मदरसालाई अधिकतम रु दुई÷दुई लाख अनुदान सहयोगसमेत उपलब्ध गराइएको छ । कार्यक्रम सञ्चालनका लागि बर्दियामा परियोजनाको कार्यालय स्थापना गरिएको छ भने समुदाय परिचालन अधिकृतलाई तोकिएको विद्यालयमा खटाइएको छ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत अभिभावकलाई दौतरी शिक्षा तालीम, स्थानीयस्तरमा शैक्षिक सामग्री निर्माण, पढाइ उत्सव, अभिभावक शिक्षक सम्मेलन तथा पैरवी र चेतनामूलक अभियान लगायतका गतिविधि सञ्चालन भइरहेको कार्यक्रम प्रबन्धक शान्तराम चौधरीले बताए