स्वास्थ्य

भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बृद्धि सेवा विस्तारको माग

चितवन। उपचारका लागि भरतपुर अस्पतालमा आउने बिरामीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । बिरामीको सङ्ख्यामा बढ्दै गए पनि त्यसअनुसारको पूर्वाधार नहुँदा व्यवस्थापन गर्न कठिन भएको अस्पतालले जनाएको छ ।

सीमित स्रोतसाधनमा धेरै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यतासँगै अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयमा सेवा विस्तारका लागि बजेट माग गरेको छ । गतवर्ष केन्द्रीयस्तरको अस्पतालको मान्यता पाएर पनि बजेट नपाएको यहाँको भरतपुर अस्पतालले रु २४ करोड बराबरको बजेट निकासा गर्न र दरबन्दी थपका लागि प्रक्रिया अघि बढाउन माग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार बिरामीको चाप निकै बढेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी अस्पतालको समग्र अवस्थाको बारेमा जानकारी गराइएको हो ।

उनले भने, “हिजो आइतबार हाम्रो बहिरङ्ग सेवामा एक हजार ६८८ बिरामीले टिकट काटेका थिए ।” ती सबैको एकै दिनमा उपचार गर्न सेवा विस्तार गर्नुपर्ने भएकाले आफूले मन्त्रीलाई भेट गरी सेवा विस्तारका लागि आग्रह गरेको जानकारी दिए ।

तिवारीका अनुसार मन्त्री यादवले केन्द्रीय अस्पताल भएकाले तत्काल सेवा विस्तारका लागि आवश्यक वजेट विनियोजन गरी अख्तियारी दिने आश्वासन दिएका छन् । केन्द्रीय अस्पतालमा पनि बिरामीको आधारमा बजेट उपलव्ध गराउन आफूले माग गरेको तिवारीले बताए । यसैगरी अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएनएम) सर्वे गरेर दरबन्दी थप गरिदिन पनि मन्त्रालयमा माग गरिएको छ । कर्मचारी समायोजनपछि यो प्रक्रिया अघि बढ्ने मन्त्री यादवले आश्वासन दिएको तिवारीले जानकारी दिए ।

यहाँको सेवा चित्त बुझेकै कारण बिरामी बढिरहेको उनले बताए । “सेवाग्राहीलाई अस्पतालले साधनस्रोतले भ्याएसम्मको सेवा दिइरहेको छ”, उनले भने, “हामीले भएका साधन र जनशक्तिले भ्याएसम्मको सेवा बिरामीलाई दिइरहेका छौँ ।”

भरतपुर अस्पतालमा अल्ट्रासाउण्ड दुई थान, पूर्ण डिजिटल एक्सरे एक थान, शिशु सघन उपचार कक्ष र सघन उपचार कक्षमा दुई÷दुई वटा भेन्टिलेटर थप गर्न माग गरिएको छ । यस्तै सुत्केरी र आकस्मिक कक्ष छुट्टै बनाउन बजेट प्रस्ताव गरिएको छ । चिकित्सकका लागि हाल भएको आवास जीर्ण भएकाले नयाँ भवन निर्माणका लागि प्रस्ताव पेश गरेको उनले बताए ।

यस्तै एक महीनादेखि १४ वर्ष सम्मका बालबालिकाको उपचार गर्ने शिशु सघन उपचार कक्ष र आकस्मिक कक्षका लागि छुट्टै प्रयोगशाला निर्माणका लागि बजेट माग गरिएको तिवारीले जानकारी दिए ।

भरतपुर अस्पतालमा भएका चिकित्सकहरुले दैनिक ८० देखि एक सय जना बिरामी हेर्नुपरेको भन्दै तिवारीले हालको दरबन्दी भन्दा दोब्बर चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक रहेको बताए । दरबन्दी थपका लागि अर्थ, सामान्य र स्वास्थ्य मन्त्रालयले (ओएनएम) सर्वे गर्नुपर्नेहुन्छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा ७७ जना विशेषज्ञ चिकित्सक र ३१ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् ।

बिरामीको सङ्ख्याको तुलनामा यो दरबन्दी निकै न्यून भएकाले अस्पताल प्रशासनले मन्त्रालयमा दरबन्दी थपका लागि पहल गरिरहेको उहाँले जानकारी दिए। अस्पतालको सेवामा सन्तुष्टि, बीमाको पहिलो केन्द्र र जनसङ्ख्याको वृद्धिसँगै अस्पतालमा दिनानुदिन बिरामी बढ्दै गएको पौडेलको भनाइ छ । कूल बिरामीको आधाभन्दा बढी बीमाका हुने गरेका छन् । उहाँका अनुसार अस्पतालमा प्रसूति सेवा लिन र गर्भवती जाँचका लागि आउने दुवै खालका बिरामी बढिरहेको छ । दैनिक ४० जना हाराहारी बच्चा भरतपुर अस्पतालमा जन्मने गर्दछन् । जसको २५ प्रतिशत भन्दा बढीलाई शल्यक्रिया गर्नुपर्नेहुन्छ ।

विसं २०१३ मा एउटा छाप्रोको १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पतालले केन्द्रीय बनेसँगै ५०० श्ययाको अनुमति पाए पनि अस्पतालमा ६०० श्यया सञ्चालनमा छ । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिइँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायतका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् ।