सुदूरपश्चिम

लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध

बाजुरा । जिल्लामा भित्रिने विकास बजेटको सबैभन्दा ठूलो हिस्सा सडक निर्माणमा खर्चने गरिएको छ । अन्य शीर्षकमा आएको बजेटसमेत रकमान्तर गरेर सडकमै लगानी गरिएको छ । सडक सबैले उपयोग गर्ने भन्दै लक्षित वर्गका लागि आएको बजेटसमेत स्थानीय राजनीतिक दलको मिलेमतोमा शीर्षक मिलाएर सडकमै लगाइएको हो ।

ठाउँ विशेष र आवश्यकता पहिचान गर्नुभन्दा पनि घरघरमा सडक पुर्‍याउने होडबाजी नै चलेकाले सिमसिम पानी पनि पर्नासाथ सडकमा सवारी गुड्नै छोडछन् । वार्षिक करोडौँ रकम खर्चेर खोलिएका नयाँ ट्याक र मर्मत गरिएका सडक सामान्य वर्षाका कारण पनि अवरुद्ध हुने नियति यसवर्ष पनि यथावत छ ।

मनसुन शुरु भएका केही दिनमै जिल्लाका ग्रामीण क्षेत्रका मुख्य मार्तडी–कोल्टी सडक, मार्तडी–गौमुललगायत सदरमुकाम मार्तडी वरपरका सबै सडक ठप्प छन् । हिँउदमा मुस्कीलले चल्ने ग्रामिण सडक असार पहिलो सातादेखि ठप्प छन् ।

करोडौँको लगानी सडकमै गरिए पनि स्थानीयवासी भने पैदल यात्रा गर्न बाध्य छन् । हिउँदमा सडक बनाइन्छ, हरेक वर्षाद्मा बाढीपहिराले पुरानै अवस्थामा पुर्‍याउने हुँदा लगानी मात्र खेर गएको कोल्टीका व्यापारी वर्तराज उपाध्यायको दुखेसो छ । डोजर प्रयोगले थप पहिराको जोखिम मात्र निम्त्याएको सर्वसाधारणको गुनासो छ ।

जिल्लामा दर्जन बढी ग्रामीण सडक डोजर लगाएर खनिएका छन् । स्थानीय तह निर्माणपछिको दुई वर्षको अवधिमा मात्र नौ स्थानीय तहलेमात्र एकसयभन्दा बढी किलोमिटर लामो सडक निर्माण गरेका थिए तर ती सडक हिँड्न र पद मार्गका लागि पनि लायक नभएको मार्तडीका व्यापारी चक्रबहादुर मल्लको भनाइ छ । प्राविधिक मूल्याङ्कनबिनै सडक निर्माण गरिएकाले पानी पर्ने बित्तिकै पुरानै अवस्थामा पुगेका हुन् ।

केही स्थानीय तहले आफ्नै डोजरले सडक निर्माण गरिरहेका छन् भने कोहीले ठेकेदारमार्फत सडक निर्माण गराएका छन् । जिल्लाका जगन्नाथ, बूढीगङ्गा, त्रिवेणी खप्तड छेडेदहलगायत स्थानीय तहका वडा वडामा सडक खनिएको छ । तर ती सबै सडक वर्षाद्ले पुरानै अवस्थामा पुर्‍याएको खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका मिनबहादुर सार्कीले बताए ।

बाइस वर्षपछि कालोपत्र गरिएको साँफे मार्तडी सडक पनि बल्देको पहिरोका कारण बेला बेला अवरुद्ध हुने गरेको छ । बाटो बन्द भएको दिन मार्तडीसम्म हिँड्नुपर्ने बाध्यता यहाँका यात्रुलाई हुने गरेको छ ।

सडकको गुणस्तर राम्रो नहुँदा पानी परेको भोलिपल्टदेखि जिल्लाका अधिकांश सडकमा सवारीसाधन चलाउन मुस्किल परेको सवारी चालक प्रेम रावतले बताए । जिल्लाका नौ वटा स्थानीय तहमध्ये हिमाली, स्वामिकात्र्तिक, गौमुल गाउँपालिकाकका केही वडाबाहेक सबैतिर सडक खनिएको छ ।

सडक बन्द भएपछि आवतजावतसँगै दैनिक उपभोग्यका समान ढुवानीमा समेत असर पुगेको छ । ढुवानी खच्चड र मान्छेबाट मात्र गर्नुपर्ने हुँदा मूल्य बढ्न थालेको उपभोक्ताको भनाइ छ । जिल्ला सडक गुरुयोजनामा १३ वटा सडक परे पनि अलिखितरुपमा भने दर्जनौँ सडक खनिएका छन् तर त्यसको दीगोपनामा कसैले ख्याल गरेका छैनन् ।