प्रदेश 1

६ दिनदेखी बेपत्ता दिदी–बहिनी भारतमा भेटिएः आज नेपाल ल्याइने

सुरुङगा । गत साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा भेटिएका छन ।  इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् ।

स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए । विद्यालयबाट घर नफर्केपछि उनीहरुको परिवारले प्रहरीलाई खबर गरेको र सूचना पाएलगत्तै उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन ।

बेपत्ता बनेका किशोरी दिदी बहिनी हुन् । मानव बेचबिखन गर्नेको हात पर्न सक्ने सम्भावना भएकाले घटनालाई संवेदनशीलरुपमा लिएर आफूले अनुसन्धान अघि बढाइएको बताउँदै भारतीय प्रहरी र माइती नेपालसँग सहकार्य गरी उनीहरुको खोजी गरेको नायब उपरीक्षक थापाले बताए ।

बेपत्ता बनेका दिदी बहिनीले बोकेको मोबाइलमा भारतको लखनउ ट्रयाक गरेपछि भारतीय प्रहरीसँग समन्वय गर्न प्रहरी प्रधान कार्यालय र नेपालको इन्टरपोलले भारतको इन्टरपोलसँग सम्पर्क गरेको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन ।

लखनउमा छन् भन्ने जानकारी पाएपहि आफुहरुले तत्काल भारतीय प्रहरीलाई जानकारी गराई जसका कारण उनीहरु मानव दलालीको पञ्जामा पर्न सक्ने भएकाले सचेत भई उनीहरुको सम्पर्कमा पुगेका उनको भनाई छ । भारतको पूर्णियामा फेला परेका किशोरीलाई आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।