खेलकुद

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न भक्तपुर मार्सल आर्ट्स सङ्घ गठन

भक्तपुर । आत्मरक्षा प्रशिक्षक एवं सामाजिक अभियानकर्मी पद्मा खयरगोलीको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर मार्सल आर्ट्स हाप्किडो सङ्घ गठन भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न, मुलुकमा बढ्दै गइरहेको लैङ्गिक हिंसा रोक्न र दुश्मनबाट स्वयम्को आत्मरक्षा गर्ने कलालाई प्रत्येक महिलामा पुर्‍याउने उद्देश्यले सङ्घको गठन भएको हो ।

सङ्घको प्रथम उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ, महासचिव सुरेन्द्र जाकिबन्जार, उपसचिव राजेन्द्र भुषण खयरगोली, कोषाध्यक्ष रिता रञ्जितकार, सदस्यमा क्रमशः हरिबहादुर श्रेष्ठ, श्यामसुन्दर शिल्पकार, श्यामसुन्दर बासुकला, सुदीप सुवाल, अमित रञ्जित, जयन्ती श्रेष्ठ, रोजिना लोहला चयन भएका छन् ।

भक्तपुर जिल्ला खेलकूद विकास समितिको कार्यालयमा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घका केन्द्रीय उपाध्यक्ष सुस्मिता गुरुङको उपस्थितिमा गठन भएको सङ्घको कानूनी सल्लाहकारमा श्रीधर ङाखुसी श्रेष्ठ, सल्लाहकारमा नारायण झा तथा राजु बजिको चयन भएका छन् ।

परापूर्वकालमा दुश्मनबाट आफूलाई रक्षा गर्न, चोर, फटाहा, डाँकाहरुबाट आफूलाई बचाउने कला, जसलाई ह्यानगुयल अर्थात् हाप्किडो भन्ने गरिएको यो खेलमा मार्सल आर्ट्सका पाँच खेल कराँते, ताइक्वाण्डो, बक्सिङ, जुडो र रेसलिङको कलालगायत प्रेसर प्वाइट, ज्वाइन प्वाइट विभिन्न कलाकौशल समावेश रहेको अध्यक्ष खयरगोलीले बताए ।

राष्ट्रिय खेलकूद परिषद्मा दर्ता भएको सङ्घको हाल २५ वटा जिल्ला सङ्घको गठन भएको छ । नवगठित सङ्घले चाँडै नै मार्सल आर्ट्स हाप्किडो खेलसम्बन्धी खेलाडी, खेलप्रमी, समाजसेवी, विद्यार्थी, महिलालाई प्रशिक्षण दिने भएको छ ।