बाग्मती

विरही क्यान्सर रोगसँग लड्दै

चितवन । पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील रेशम विरही क्यान्सर रोगसँग लडिरहेका छन् । चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसकेका विरहीका नौ वटा कृति प्रकाशित भइसकेका छन् ।

हाल भरतपुर महानगरपालिका वडा नं १६ मा बसोबास गर्दै आएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ । उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । पहिलो चरणको केमोपछि घरमा आराम गरिरहेका विरहीलाई १५ दिनको फरकमा चारपटक केमो दिएपछि आन्द्राको शल्यक्रिया गर्ने चिकित्सकले जनाएका छन् ।

शल्यक्रियापछि पेट स्क्यान गरेर क्यान्सर बाँकी रहे नरहेको हेर्न सकिने चिकित्सकले सुझाएको उनले बताए । जीवनभर पत्रकारिता र साहित्यमा लागे पनि आर्थिक उपार्जन गर्न नसकेका विरहीको उपचारमा भने ठूलो धनराशि खर्च हुने देखिएका छ । यही उपचार गर्दा रु २० लाख हाराहारी खर्च हुने अनुमान गरिएको छ ।

उनको उपचार सहयोगार्थ चितवन र नेपालगञ्जका पत्रकारले आर्थिक सङ्कलन गर्ने तयारी गरेका छन् । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले अस्पतालमा उपचार गर्दा केकति सहुलियत गर्न सकिन्छ त्यसको पहल गर्दै आर्थिक सङ्कलनका लागि तयारी गरिरहेको बताए ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सदस्यसमेत रहनुभएका विरही पछिल्लो समय साहित्यिक कार्यक्रममा बढी क्रियाशील छन् । छैसठ्ठी वर्षीय विरहीले विसं २०२८ मा मातृभूमि पत्रिकाबाट पत्रकारिता शुरु गर्नुभएको हो । प्रतिध्वनि, हिमाली हुलाक, मुलुकी आवाज, नेपाल समाचारपत्र, अभिनन्दन, समानान्तर दैनिक र भरतपुर मासिक पत्रिकामा सम्पादनको भूमिका गरिसकेका छन् ।

उनी नेपालगञ्जको कालपृष्ठ दैनिकको अतिथि सम्पादक हुन् भने यहाँको चितवन पोष्टसहित विभिन्न राष्ट्रिय र स्थानीय पत्रिकामा स्तम्भकारका रुपमा काम गरिसकेका छन् । उनको विसं २०३६ मा पहिलो कृति मूलाको बोक्रा कविता सङ्ग्रह प्रकाशित भएको थियो भने पछिल्लो कृति प्रेमदासको डायरी विसं २०७४ मा प्रकाशित भएको छ । यसबीचमा उनका भित्तामा रंग, मङ्गली गुप्ताको पान, आधारभूत पत्रकारिता पाठ्यपुस्तकलगायतका नौ वटा पुस्तक प्रकाशित भएका छन् । उनले दुई वटा पुस्तक प्रकाशनको तयारी भए पनि आफू बिरामी भएपछि रोकिएको जानकारी दिए ।