कर्णाली प्रदेश

विकास निर्माणको कार्य थालेपछि पर्यटकको गन्तव्यस्थल बन्दै ‘आँधिमूल’

तनहुँ। तनहुँ। को आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित ‘आँधिमूल’ पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार गर्दै गाउँपालिकाले विकास निर्माणको कार्य थालेपछि पर्यटकको आर्कषण बढ्दै गएको हो ।

तनहुँको धार्मिक पर्यटकीय सम्भावना बोकेका स्थलमध्ये आँधिमूल पनि एक भएकोले यहाँको पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले मात्र नभई स्थानीय तहले समेत चासो देखाएका छन् ।

धार्मिक पर्यटकीयस्थल आँधिमूलमा विभिन्न क्षेत्रबाट आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढ्दै गएको वडाध्यक्ष किसान थापाले बताए । विभिन्न जिल्लाबाट मानिस आँधिमूल बाराही देवीको पूजा तथा दर्शन गर्न आउँछन् भने कतिपय मानिस अवलोकन भ्रमणका लागि आउने गरेको उनले जानकारी दिए ।

आव २०७५ः७६ मा आँधीमूल घेराबार योजनाअन्तर्गत गाउँपालिकाले रु १५ लाख विनियोजन गरेको थियो । उनले भने, “पानीको मुहान संरक्षणका लागि कसैले रुख काट्न नपाउने गरी आँधीमूल माथिको करीब ७०० मिटर वन क्षेत्रमा तारबार गरिएको छ ।”

पृथ्वी राजमार्गको सत्रसयदेखि आँधिमूलसम्मको मार्ग कालोपत्रेका लागि गाउँपालिकाले आव २०७६ः७७ मा रु। एक करोड नौ लाख विनियोजन गरिसकेको वडाध्यक्ष थापाले जानकारी दिए । उक्त धार्मिकस्थलमा आउने भक्तजन एवं पर्यटकलाई लक्षित गरी रु तीन लाखको लागतमा ट्रष्ट निर्माण गरिएको छ । हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरिएको हो ।

आँधिमूलको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधिमूलस्थल रमणीय भएकोले पूजा अर्चनाका साथै वनभोजका लागि मानिस टाढा टाढादेखि आउने गरेको आँधिमूल धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष पदमराज अधिकारीले जानकारी दिए ।

साउन महीना र औँसीबाहेक अन्य समयमा दिनहुँ पूजा अर्चना गरिन्छ । उनले भने, “अन्य दिनमा यहाँ परेवा उडाइन्छ भने बोका र कुखुरालाई बलि दिई पूजा गर्ने चलन रहँदै आएको छ ।”

गण्डकीप्रदेश सरकारको रु १५ लाखको लागतमा पृथ्वी राजमार्गको सत्रसय बजारदेखि साढे दुईकिलो मिटर बाटो फराकिलो गर्ने, दुई स्थानमा ग्याबिन भर्ने, कच्ची नाला बनाउने लगायतका कार्य सम्पन्न भइसकेको आँधीमूल धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

आँधिमूल जङ्गलको खोँचमा अवस्थित छ । उक्त क्षेत्रमा सवारीसाधन सहजरूपमा पुग्ने व्यवस्था मिलाइएको छ । करीब आधा घण्टा पैदलमार्ग हुँदै पुग्न सकिने उक्त ठाउँमा सवारीसाधनमार्फत १५ मिनेटमा पुग्न सकिन्छ ।

विशेषगरी सार्वजनिक बिदाको दिनमा मानिस यस स्थानमा घुम्न र वनभोजका लागि पर्यटक आउने गरेका छन् । यहाँको मनोरम दृश्य देखेर आन्तरिक एवं बाह्य पर्यटकहरुको मन सजिलै लोभिने गरेको छ ।

प्यागोडा शैलीको कलात्मक मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २२ वटा धारा लगायतका संरचना रहेका छन् । पोखरीमा माछासमेत संरक्षण गरेर राखिएको छ । मानिसको भिड बढेसँगै त्यस ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी अर्थतन्त्रमाथि उकास्ने लक्ष्य रहेको वडाध्यक्ष थापाले बताए ।

गाउँपालिकाले सत्रसय–आँधीमूल पर्यटन मार्गका लागि गत वर्ष रु पाँच लाख विनियोजित बजेटबाट पर्यटन मार्गको स्तरोउन्नति गरिसकेको छ । आँधिमूल क्षेत्रमा वनभोजका लागि आउने मानिससँग फोहर व्यवस्थापनवापत समितिले न्यूनतम शुल्क लिने गरेको गरेको छ ।

मन्दिरमा दैनिक पूजापाठमा खटिने पुजारीको खर्चलाई मध्यनजर गर्दै कम्तीमा रु। २०० देखि बढीमा रु ५०० सम्म शुल्क लिने गरेको समितिले जनाएको छ ।